भर्जिनिटी टेस्ट: एक सामाजिक कुरीति

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


हाम्रो समाजमा आफूले बिहे गरेर भित्र्याएकी श्रीमती कुनै पनि हालतमा भर्जिन अथवा कुमारी नै हुनुपर्छ भन्ने मान्यता धेरै पुरुषमा हुने गर्दछ । हाम्रो समाजपुरुषप्रधान समाजभएकोले महिलाहरुलाई बिभिन्न सामाजिक कुरीतिहरुकोसामना गर्नु परेको छ जसमध्ये ‘भर्जिनिटी टेस्ट’पनि एक प्रमुख कुरीति हो ।धेरैजसो स्थितिमा कौमार्य भङ्ग हुने कुरा किशोरीहरुको सन्दर्भमा उनीहरुको बिबाहको कुरा कतै चल्न सुरु भयो भने पुरुषहरुले उनीहरुको चरित्रसँग जोडेर भर्जिनिटीलाई ल्याउने गर्दछन् । विवाहमा केटा पक्षले कन्याअथवा केटी खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए–नभएको कुराले निकै महत्व राखेको पाइन्छ।भर्जिनिटी टेस्टमा फेल भएको कारण महिलाहरुले पुरुषहरुबाट सम्बन्ध विच्छेद, शारिरीक तथा मानसिकपिडा, चरित्रमाथि नै प्रश्न जस्ता विभिन्न समस्याहरुबाट पिडित भएको घटनाहरु मिडियाहरुमा धेरै नै आउने गर्दछन । यो कुरिति नेपालमा मात्र सिमित नभई भारत, युके, इन्डोनेसिया, अफ्रिका, अफगानिस्तान आदि राष्ट्रहरुमा पनि प्रचलनमा रहेको छ । सन् २०१८ को अक्टूबरमा संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठनले भर्जिनिटी टेस्ट अन्त्य गर्नुपर्ने घोषणा गरेपनि व्यवहारमा भने अझ पनि यसको व्यापकता रहेको देखिन्छ ।पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए–नभएको आधार बनाइन्थ्यो,

तर वास्तविक कुरा के हो भने यो आधारलाई आजकल वैज्ञानिक मान्न सकिँदैन।कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको विकास राम्रोसँग नभएको हुन सक्छ भने यौनसम्पर्कबाहेकका अन्य शारिरीक क्रियाकलाप जस्तै साइक्लिङ, डान्स, खेलकुद ईत्यादिले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ।हाम्रो समाजमा बिबाहको कुरा चल्दा अथवा बिबाहको बेलामा महिलाहरुमाउनिहरुको कुमारित्वको परीक्षणमा उनीफेल भईन भने के होला भन्ने डर हुने गरेको हुन्छ यसरी नयाँ जीवनको सुरुवात गर्ने बेलामा एउटी युवतीले यो डरका साथ जीवनको सुरुवात कसरी गर्ली ? अनि के उसको हुनेवाला श्रीमान् पनि आफ्नो कुमारित्वको विषय लिएर यसरी नै डराइरहेको होला भन्ने प्रश्न पुरुषमा लागु नै हुदैन ।पुरुषहरुका बीचमा हुने गफगाफमा एउटा कुरा आम हुन्छ, ‘फलानोको त यतिवटा गर्लफ्रेन्ड छ, धेरै गर्लफ्रेन्ड हुनुको अर्थ ऊ ‘बाठो’ तथा‘मर्द’ हो । जुन हाम्रो समाजलाई पाच्य हुन्छ । त्यसको ठीकविपरीतकुनै महिला प्रेम सम्बन्धमा छ, तर शारीरिक सम्पर्कदेखि टाढा छ भने पनि त्यो विषयले हाम्रो समाजमा महिलालाई सबैका आँखामा ‘भ्याइएकी’, ‘चरित्रहीन’ को संज्ञा दिईन्छ । ।समाजको नजरमा उसले आफ्नो परिवारको इज्जत फालेको हुन जान्छ ।नेपालको स़ंविधान २०७२ को धाराहरु १७ ले स्वतन्त्रताको हक, १८ ले समानताको हक, २८ ले गोपनीयताको हक, २९ ले शोषणविरुद्धको हक, ३८ ले महिलाको हक आदि मौलिक हकहरुको व्यवस्था गरेपनि समाजले महिलामाथि शङका उपशङका गर्ने र पुरुषलाई खुल्ला छोडेको छ ।

नेपालको मुलुकी देवानी संहिताको दफा ७० ले विवाह २० वर्षभन्दामुनि गर्न नपाउने प्रावधान गरेको छ भने सहमतिमा राखिने यौनसम्बन्धका लागि मान्यता पाउने उमेर १८ बर्षभन्दा माथिलाई नेपालको कानुनले व्यवस्थित गरेको छ । एकातिर आजकलका किशोरकिशोरीहरु पनि यौन स्वच्छन्दता खोजिरहेका छन् भने अर्कातिर नेपाली समाजमा मौँलाउँदै गएको लिभिङ टुगेदरको अवधारणाले पनि भर्जिनिटी भन्दामाथि उठ्न हाम्रो समाजमा जरुरी देखिन्छ । आजकलका किशोरकिशोरीहरु यौन स्वच्छन्दता खोजिरहेको बेलामा महिलाहरुको चरित्रलाई खाली भर्जिनिटीको आधारमा जाँच्नु के उपयुक्त होला त?अन्तर्राष्ट्रिय संघसंस्था तथा हाम्रो संविधान तथा ऐनकानुनले नै भर्जिनिटीलाई औपचारिक तथा अनौपचारिक रुपमा सामाजिक विकृतिको संज्ञा दिदैँआइरहेको अवस्थामा केवल महिलाको चरित्रमाथि प्रश्न उठाउने समाज के प्रेम गर्ने प्रेमिका एक्लै चरित्रहीन हो ? यौन सम्बन्ध राख्दा महिलाले ‘समाजलाई धोका दिइएको’ ठान्ने समाजले के त्यहाँ पुरुषको भूमिका देख्दैन ?समाजको यही व्यवहारले महिलाले व्यक्त गर्न चाहेका कैयौँ कुरा गुम्स्याएर बस्नुपरेको छ । उनीहरू जीवनभर बाँचेर पनि खुलेर बाँच्न सकेका छैनन् । आजको समयमा महिला र पुरुषबीच समानता हुन जरुरी छ,त्यसैले हामी सबै समयमा सचेत होऔँ र सरकारले पनि सामाजिक विकास मन्त्रालयद्वारा विभिन्न सचेतना कार्यक्रमहरु चलाउन आवश्यक देखिन्छ ।सोनु बनिया, पृथ्वीनारायण क्याम्पस पोखरा

 

फेसबुकबाट तपाईको प्रतिक्रिया