देउवा र रेणुलाई एकै ठाउमा जुटाईदियो प्रेस युनियन चितवनको अधिबेशनले !

प्रकाशित मिति:

असोज २६, २०७५ चितवन – स्थानीय तहको चुनाव सम्पन्न भएको १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल एउटै मञ्चमा देखापरेका छन् ।

भरतपुर महानगरकी मेयरकी उम्मेदवार रेणुलाई जिताउन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जहाजको एउटै सीटमा बसेर देउवा २०७४ वैशाख २८ गते भरतपुरमा पुगेका थिए ।
छोरीलाई जिताउन प्रचण्डले देउवालाई लिएर चुनावी सभामा गएको विषय चर्चामा आएको थियो ।

मतगणनाका क्रममा अप्रिय घटना भएपनि कांग्रेसको समेत समर्थनमा रेणु भरतपुरको मेयर भइन् । रेणु मेयरमा विजयी भएको केही समयमै कांग्रेस र माओवादीको सहकार्य तोडियो ।

प्रेस युनियनले शुक्रवार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिधिको रूपमा देउवा उपस्थित थिए भने रेणु अतिथिको रूपमा उपस्थित थिइन् ।

रेणुले देउवालाई नमस्कार गरेपनि उनीहरूबीच भलाकुसारी भएन ।