पूर्वसभासद् भारतमा मृत भेटिए

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


झापा  –  तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मंगलबार बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजीकैको ‘चारआली बजार जान्छु’ भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।

उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट सभासद् निर्वाचित भएका थिए ।उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए । भारतीय प्रहरीले उनी एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया