नेपाल बन्यो च्याम्पियन !

प्रकाशित मिति:

असोज २६, २०७५ काठमाडौं – आईसीसी विश्वकप टी–२० एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको विजेता बन्दै नेपाल अघिल्लो चरणमा प्रवेश गरेको छ ।

सिंगापुरसँग शुक्रवार भएको अन्तिम खेल वर्षाले प्रभावित भएपछि नेपाल नेट रनरेटका आधारमा विजेता बनेको हो । ६ खेलबाट समान ११ अंक जोडेको सिंगापुर उपविजेता बनेको छ ।

८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३ बल मात्र खेल्दा पानी परेपछि खेल रोकिएको थियो । नेपालले ३ बलमा १ विकेट गुमाएर १ रन जोडेको थियो । अनिल साह रनको खाता नै नखोली आउट भएका हुन् ।

खेल रोकिँदा क्रिजमा कप्तान पारस खड्का र विनोद भण्डारी थिए ।

मलेसियाको क्वालालाम्पुरमा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रन जोड्दा अलआउट भएको थियो ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले समान २ तथा वसन्त रेग्मी र ललितनारायण राजवंशीले १-१ विकेट लिए ।

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ तथा मनप्रित सिंह र सिद्धान्तले समान १० रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् । एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

अब यी छ टोलीबीच दोस्रो चरणको छनोट प्रतियोगिता हुनेछ । सो प्रतिस्पर्धाबाट शीर्ष दुई टोली अन्तिम चरणको छनोटका लागि छानिने छन् ।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने छ । १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

विश्वकप टी-ट्वान्टी सन् २०२० मा अष्ट्रेलियामा हुँदैछ ।