ओलीकै भाषामा पूर्वमन्त्रीले भनेः विकास भनेको जादुको छडी होइन !

प्रकाशित मिति:

काठमाण्डु, २६ असोज –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास भनेका जादुको छडी नरहेको बताएका छन् । देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनैपनि सम्झौता नगर्ने उनले स्पष्ट पारे ।

जनता डिजिटल प्रालिद्वारा रिपोर्टर्स क्लव नेपालमा आज गरिएको गीत विमोचन कार्यक्रममा पूर्वमन्त्री न्यौपानेले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास र समृद्धिका लागि काम गरेको भन्दै सरकारको आलोचना गर्न आवश्यक नरहेको बताए । सरकारले जनताका पक्षमा काम गरिरहेको पनि उनले जानकारी गराएका छन ।

प्रधानमन्त्री ओलीको बचाउ गरेका न्यौपानेले विकासमा सरकारको उच्च ध्यान रहेको जनाएका छन । ‘विकास भनेको जादुको छडी होइन’, उनले भने, ‘विकास भइरहेको छ । सरकार बनेको भर्खरै छ महिना पुगेको छ । यस्तो अवस्थामा केही पनि काम भएन भन्नु पूर्वाग्रही कुरा हो ।’

न्यौपानेले वर्तमान सरकारको आलोचना नगर्न आग्रह गरे । ‘दुई तिहाईको यो सरकारलाई काम गर्न दिनुपर्छ’, उनले भने, ‘काम गरेको छ वा छैन भनेर मूल्यांकन गर्ने अहिले होइन । जे जति काम भएको छ त्यो धेरै राम्रो भएको छ ।

जनता डिजिटल प्रालिले गीत संगीतको क्षेत्रमा गरेको योगदानको पूर्वमन्त्री न्यौपानेले प्रशंसा गरे । ‘गीत संगीतबाट नै देशको कला र संस्कृतिको जर्गेना गर्न सकिन्छ’, उनले भने, ‘गीत संगीतकै कारण धेरैको रोजगारीमा सहयोग मिलेको छ । यो क्षेत्रलाई सरकारलाई पनि विशेष ध्यान दिनुपर्छ ।’

कार्यक्रममा पूर्वमन्त्री न्यौपानेले ‘तिमी हुन्छ मात्र भन…’ बोलको म्युजिक भिडियोको सार्वजनिक गरेका थिए । कार्यक्रममा जनता डिजिटल एण्ड फिल्मस् प्रालिको ब्यानरमा बनेको निरबहादुर बम्जनको लोकपप गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा म्युजिक भिडियोका कलाकार, निर्देशक, कोरियोग्राफर, संगीतकार, गीतकार, सहयोगी टिम सबैलाई मायाको चिनो मार्फत सम्मान गरिएको थियो ।