दैलेखमा जीप दुर्घटना तीन जनाको मृत्यु

प्रकाशित मिति:

दैलेख/दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो ।दुर्घटनामा परी मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका– ६ का देवबहादुर खड्का, वीरेन्द्रनगर–१५ का खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती गोमा बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चार जना घाइते भएका छन् । चिङ्गाड गाउँपालिका– ६ का दुर्गाबहादुर गाहा, उनकी श्रीमती चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर– ८ का नरे नेपाली र वीरेन्द्रनगर– १६ का लक्ष्मी ज्ञवाली घाइते भएका हुन् । जीपमा सात यात्रु सवार थिए ।घाइते नरे र चन्द्राकुमारीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।