बालमैत्री स्थानीय तह बनाउन पहल

प्रकाशित मिति:

नरेश चौधरी, सैनामैना, फगुन २२ । रुपन्देहीका स्थानीय तहलाई बालमैत्री बनाउन पहल थालिएको छ । सियारी, मायादेवी र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुको भेलाले स्थानीय तहलाई बालमैत्री बनाउने निर्णय सहित पहल गरेका हुन् । बालमैत्री कार्यक्रम तय गरी बालसंरक्षणका अभियान सञ्चालन गरिने सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गरी नेपालको संविधान बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गरिने समेत उहाँले जानकारी दिनु भयो । बालबालिका भोलिका कर्णधार र समाजका महत्वपूर्ण अंग भएकाले उनीहरूको संरक्षण गर्दै बालअधिकार प्रवद्र्धन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।बालअधिकार प्रवद्र्धनमा स्थानीय तहले गर्नसक्ने कामहरूकाबारे विस्तृत छलफल गरी आगामी दिनमा बजेट ब्यवास्थापन गरेरै अगाडी बढ्ने समेत उहाँले प्रतिवद्धता जनाउनु भयो । बालमैत्री स्थानीय तह बनाउन सबै पालिकाहरु गम्भीर हुनुपर्ने उहाँको सुझाव थियो ।बाल अधिकार संरक्षण गर्नु स्थानीय तहको कर्तव्य भएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले बताउनु भयो । बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहारजस्ता गलत प्रवृत्ति हटाउने कार्यक्रम तय गरेर पालिकाहरुमा अभियान चलाउनु पर्ने उहाँको भनाई थियो ।

बालश्रमिकहरूको पहिचान गरी उनीहरूको अवस्था विश्लेषण गरेर उद्धार, पुनःस्थापना र शिक्षामा सहयोगजस्ता कार्यक्रम तय गर्नु पर्ने सियारी गाउँपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराईले बताउनु भयो ।  बालमैत्री स्थानीय तह बनाउन सबै पालिकाहरु गम्भीर हुनुपर्ने शुद्धोधन गाउपालिका वडा नं। २ का वडा अध्यक्ष विष्णु प्रसाद बस्यालले बताउनु भयो । बालबालिकाका समस्या केलाएर समाधानमुखी कार्यक्रम तय गर्न मायादेवी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाहले बताउनु भयो । बालश्रम विशेष गरेर उधोग, होटेल तथा रेष्टुरेन्ट, कृर्षि तथा पशु फर्म, भौतिक पुर्वधार निर्माण, यातायात, हाटबजार, घरेलु कामदार लगाएतका क्षेत्रहरुमा बाढी मात्रमा देखिने गरेको विश्व शिक्षाका कार्यक्रम अधिकृत दिनेश कर्मचार्यले बताउनु भयो । बालअधिकारका सबालमा जनप्रतिनिधि, राजनितिक दल, संघसंस्थाहरु बढी जिम्मेवार हुनुपर्ने उहाँले बताउनु भयो ।पालिकाहरुको सबै वडाका बस्ती र विद्यालय स्तरमा बालक्लब गठनको अभियानलाई तीव्रता दिएर चेतना फैलाउनु पर्ने र बालमैत्री अभियानलाई प्रभावकारी बनाउनु भर्ने लुम्विनी ग्रामीण विकास परिषद रुपन्देहीका अध्यक्ष चन्द्र खनालले बताउनु भयो । स्थानीय तहहरुले बालबालिकासम्बन्धी नीति तथा कार्यक्रम बनाएर अघि बढ्न जनप्रतिनिधीहरुलाईे उहाँले सुझाब समेत दिनु भयो ।

कार्यशाला गोष्ठी सम्पन्न  बालश्रम तथा श्रमशोषण निवारण र कार्यस्थलको अवस्था सुधार लगाएतका विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
बालश्रमको अवस्था, निवारण पुनःस्थापना लगाएतका विषयमा गोष्ठि गरिएको हो ।लुम्विनी ग्रामिण विकास परिषद् रुपन्दहीको अयोजना, विश्व शिक्षाको सहयोग तथा सियारी, मायादेवि र शुद्धोधन गाउपालिकाको सहकार्यमा गोष्ठि गरिएको थियो । गोष्ठिमा सियारी, मायादेवि र शुद्धोधन गाउँपालिकाका अध्यक्ष, जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सियारी गाउँपालिकामा सम्पन्न भएको हो ।