छोराछोरीले हेर्ने छाडेपछि वृद्धाश्रम कै भरमा वृद्धवृद्धा

२३ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


दाङ – घोराही उपमहानगरपालिका हापुर घर भएकी चेतकुमारी बुढाथोकी घोराही उपमहानगरपालिका—तेह्रौंटेमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रले सञ्चालन गरेको वृद्धाश्रममा बस्न थालेको करिब ४ महिना हुन थाल्यो । आफ्नो घर परिवार कोही नभएर उनी वृद्धाश्रममा आएकी भने होइनन्।घर परिवारको अपहेलनाको कारण घर परिवारसँग बस्न नसक्ने भएपछि उनी वृद्धाश्रममा आएको बताइन् ।श्रीमान्ले अर्को श्रीमती ल्याएका छन्, छोराछोरीले पनि हेर्ने छाडेपछि केही महिना यता उनी वृद्धाश्रममा आएको बताइन । “घरमा कोही हेर्ने नभए पछि यहाँ आएर बसेकी हुँ,” बुढाथोकीले भनिन् । उनका ३ छोरा र १ छोरी रहेको उनले बताइन् । जेठो छोरा नारायणघाट बस्ने गरेको माइला छोरा भारत भएको र हालसम्म पनि बेपत्ता रहेको र कान्छा छोरा घोराहीमा बस्ने गरेको उनको भनाइ छ । छोरीको पनि विवाह भइसकेको उनले बताइन । श्रीमान्ले अर्को श्रीमती ल्याएपछि उनी छोराछोरीसँंगै विगत १६ वर्षदेखि बस्दै आएको उनको भनाइ छ ।

“कसैले पनि हेरेनन् काम गर्न नसक्ने भएपछि वृद्धाश्रममा आएकी हुँ,” बुढाथोकीले भनिन् । उनी अहिले ६९ वर्षको भएकी छन् । उनलाई वृद्धाश्रममा बस्ने रहर भने छैन ।घर परिवारका कोही लिन आएमा घर जाने उनी बताउँछिन् । “छोरा लिन आएमा घरमै गएर बस्ने थिएँ मलाई लिन को आउला र,” बुढाथोकीले भनिन् । वृद्धाश्रममा बस्दा छोरा छोरी आउँछन कि भनेर हेर्ने गरेको उनले सुनाइन । ४ महिना हुँदासम्म छोराछोरी कोही नआएको उनको भनाइ छ ।आफू वृद्धाश्रममा आएपछि श्रीमान् एकपटक आएर बाहिर वाटै हेरेर फर्केको उनले बताइन् । “श्रीमान् आएर भ्याला बाहिरबाट हेरेर गएका हुन्,” बुढाथोकीले भनिन् । माइतमा दाजुभाइ पनि भए पनि उनी माइत गएकी छैनन् । आमा बुवाको भने मृत्यु भइसकेको उनले बताइन् । सञ्चै त हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, “जिउ सञ्चो भएर के गर्नु बाबु मनमा सञ्चो छैन,” बुढाथोकीले भनिन् । वृद्धाश्रममा आफूजस्तै अन्य वृद्धवृद्धासँगै अहिले उनले मन भुलाउने गरेको बताइन् ।उनीजस्तै प्युठानकी दिलकुमारी क्षेत्री घर्ती पनि विगत १ वर्षदेखि वृद्धाश्रममा

बस्दै आएकी छन् । “घरमा कोही नभएकाले वृद्धाश्रममा आएर बसेकी हुँ,” क्षेत्रीले भनिन् । घरमा श्रीमान, छोराछोरी कोही नभएको उनले बताइन् । श्रीमान्को केही वर्षअघि मृत्यु भएपछि एक्लै भएको र केही गर्ने नसक्ने भएपछि उनीलाई छिमेकीले वृद्धाश्रममा ल्याएर छोडी दिएको उनले बताइन् । “कोही छैनन् त्यसैले जान मन लाग्दैन त्यसैले गएकी पनि छैन,” क्षेत्रीले भनिन् । वृद्धाश्रममै श्रीमान्को पेन्सन आउने
गरेको उनले बताइन् । उनका श्रीमान् मालपोत कार्यालयको सरकारी जागिरे रहेको उनको भनाइ छ । तेरौटे वृद्धाश्रममा अहिले १६ जना वृद्धवृद्धा बस्दै आएका छन् । जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरिले सहयोगी दाताको भरमा वृद्धाआश्रम सञ्चालन गरेका छन् । कसैले जन्मदिनका अवसरमा होस् त कसैले स्मृति दिवसका अवसरमा व्यक्तिगत सहयोगसमेत वृद्धाश्रमलाई गर्ने गरेका छन् । स्थानीय सरकार तथा प्रदेश सरकारले पनि केही सहयोग गर्ने गरेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया