नेविसंघले शीर्ष नेतामा भाँडभैलो !

प्रकाशित मिति:

असोज २७ काठमाडौं नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशनको लफडा शीर्ष नेताहरूको टाउको दुखाइको विषय बनेको छ।

नेविसंघको केन्द्रीय बैठकले सर्वसम्मतरूपमा पारित गरेको विधान संशोधनलाई बेवास्ता गर्दै पार्टीका नेताहरूले आफूखुसी ३२ वर्षे उमेरहद कायम गरेपछि अझ बढेको हो। मातृपार्टीमा जस्तै गुटउपगुटमा विभाजित नेविसंघका नेताहरूले संस्थापन पक्ष पराजित हुने पक्का भएपछि अधिवेशन नगराउने नियतका साथ सभापति शेरबहादुर देउवापक्षका नेताहरू लागेको आरोप लगाएका छन्।

आउँदो कात्तिक १६ गते हुने भनिएको १२औं अधिवेशनमा उमेरहद कायम गर्दा संस्थापन पक्षबाट अनुजा चलाउने, प्रकाश घिमिरे, प्रेमराज जोशीलगायतका नेताहरूले नेतृत्वको दाबी गरिरहेका छन्। जसमध्य जोशीलाई ल्याउन सहमहामन्त्री डा. प्रकाशशरण महतले विशेष जोड दिएको बताइन्छ।

सभापति देउवा भने यी तीनमध्ये जो व्यक्ति नेतृत्वमा आए पनि मन्जुर रहेका छन्। कांग्रेसका अर्को गुट रामचन्द्र पौडेल पक्षबाट विद्यार्थी नेताहरू शिव रिमाल, सागर परियारलगायतले नेतृत्व दाबी गरिरहेका छन्। यिनीहरूलाई नेतृत्वमा ल्याउन विद्यार्थी नेता रञ्जित कर्णको समेत विशेष इच्छा रहेको बताइन्छ।

कांग्रेसको अर्को गुट कृष्णप्रसाद सिटौला पक्षबाट विद्यार्थी नेताहरू सुदीप शर्मा, गणेश सापकोटा, जुजा· शेर्पालगायत नेतृत्वको दाबी गरिरहेका छन्। नेविसंघको विवाद शीर्ष नेताहरूको टाउको दुखाइको विषय बनेकै कारण तोकिएको समयमा केन्द्रीय समिति बैठकसमेत नबसी स्थगित हुँदै आएको बताइन्छ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले ३२ वर्ष उमेरहद कायम गर्दा कांग्रेस शीर्ष नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसीले नोट अफ डिसेन्ट लेखेर असहमति जनाउनुभएको थियो। नेविसंघ केन्द्रीय समितिले बनाएको विधान विपरीत आपूmखुसी विधान संशोधन गरी केन्द्रीय समितिमा पेस गरिएको भन्दै नेताहरूले असमति जनाएका हुन्।

महाधिवेशनको मिति तय भएसँगै नेविसंघ केन्द्रीय समितिले सर्वसहमतीमा विधान पारित गरी जिल्ला र क्याम्पस अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णयसमेत गरेको थियो। यहीबीचमा अध्यक्ष नैनसिंह महरले गच्छदार समूहलाई विधान विपरीत र छलफल र सहमति विपरीत १५ जनालाई केन्द्रीय समितिमा मनोनित गरी महाधिवेशनको वातावरण बिगारेको सिटौला पक्षको आरोप छ।

१२औं महाधिवेशनमा अध्यक्षका आकांक्षी सुदिप शर्माका अनुसार महाधिवेशनमा संस्थापन पक्ष पराजित हुने निश्चित भएको निष्कर्ष निकाली सभापति देउवापक्षका नेताहरू अहिले नेविसंघको महाधिवेशन नै नगर्ने रणनीतिमा रहेका छन्।