तिलोत्तमामा बजार अनुगमन

प्रकाशित मिति:

तिलोत्तमा, फागुन २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार बजार अनुगमन गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा उपप्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरुको सहभागितामा बजार अनुगमन गरिएको हो ।

कोरोना भाइसरको कारण बजारमा देखिन सक्ने समस्या समेतलाई मध्यनजर गरी बजार अनुगमन गरिएको नगरपालिकाको भनाइ छ । तिलोत्तमा नगरमा वडा कार्यालयहरुले पनि बजार अनुगमन गर्दै आएका छन् ।

टोलीले औषधि पसल, किराना पसल, होटल तथा रेष्टुरेन्ट, खाद्य उद्योग, हार्डवेयर, मासु पसललगायतमा अनुगमन गरेको थियो । मणिग्राम बजार केन्द्रीत अनुगमनका क्रममा टोलीले अखाद्य बस्तु नष्ट गराउनुको साथै सरसफाईमा विशेष ध्यान पुर्याउन होटल तथा रेष्टुरेन्ट र खाद्य उद्योगलाई निर्देशन दिएको छ ।

यस्तै अनुगमनको क्रममा पसलमा राखिएका पोलिथिनका झोला, गिलास, प्लेट, बरामद गरिनुको साथै म्याद गुज्रिएका खाद्य बस्तु समेत बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।

यस्तै टोलीले आफ्नो पसल, उद्योग परिसर र आसपासको सडकलाई सफा राख्न पनि निर्देशन दिएको शाखा अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो । अनुगमन टोलीले व्यवसाय दर्ता नगरेका व्यवसायीलाई नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र व्यवसाय गर्न निर्देशन दिएको छ । नगर उपप्रमुख जागेश्वरी चौधरीले बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।