कालोबजारी नियन्त्रणका लागि सरकारलाई तरुण दलको ध्यानाकर्षण

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काडमाडौं । नेपाल तरुण दलले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै गम्भीर परिस्थितिमा सतर्कता अपनाउन र सन्त्रास न्यूनिकरणका लागि एकजुट हुन आग्रह गरेका छन् ।कोरोना भाइरसबाट बच्नका लागि एक अर्कासँग भेट हुँदा हात नमिलाई नमस्कार गर्न, विश्वविद्यालय अध्ययन अध्यापनमा सावधानी अपनाउन, आधिकारिक माध्यमबाट जारी गरिएका सूचना मात्र सम्प्रेषण गरि सचेतना फैलाउन पनि विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

यसैगरी, ‘एक अर्कामा रंग लगाई सद्भाव साटासाट गर्दै मनाईने होली पर्वमा विगतका वर्षका जस्तो ठूला भिडभाड हुने र सांगीतिक कार्यक्रम यो वर्ष आयोजना नगर्न वा नगराउन विभिन्न तहका तरुण दलका समितिहरुलाई अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी दैनिक उपभोग्य बस्तु, खाद्यान्न ,ग्यास, माक्स, औषधी लगायत अन्य कुराको अभाव र कालोबजारी देखिन थालेकोमा यसप्रति निगरानी गर्न सम्पूर्ण तरुणहरुलाई अध्यक्ष बस्नेतले आग्रह गरेका छन् । ‘कालोबजारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षणसहित गम्भीर हुन सम्बन्धित निकायसँग माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया