महिला स्वास्थ्यको कहालीलाग्दो अवस्था

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


डा. रामदेव पंडित  – भनिन्छ, जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ सुशासन र समृद्धि हुन्छ, त्यही भगवान पनि रमाउँछन् । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । तर मधेशमा महिलाहरूको अवस्था निकै दयनीय छ । त्यहाँका महिलाहरू सम्मानित होइन विभिन्न कारणले पीडा र प्रताडित छन् । मधेशलाई समृद्ध बनाउन मधेशको नेतृत्वले यस अवस्थालाई बदल्न योजनाबद्ध साहस गर्नैपर्छ । जनसंख्याको आधा हिस्सा ओगट्ने महिला स्वस्थ नभई स्वस्थ्य नेपालको कल्पना गर्न सकिँदैन । नेपालको संविधान(२०७२)ले महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुने, महिलाविरूद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक, सामाजिक वा कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनिएको छ ।राष्ट्रिय जनगणना २०६८ अनुसार तराईका भाषा बोल्ने महिलालाई गणना गर्दा त्यस क्षेत्रमा महिलाको कुल संख्या ६७ लाख ७२ हजार ३२३ रहेको छ । जनसंख्यामा यति ठूलो हिस्सा ओगटेको भए पनि तराईका महिला जीवनका हरेक दृष्टिकोणले पछाडि परेको देखिन्छ । उनीहरू वर्गीय, जातीय, लैङ्गिक र सामाजिक विभेदको शिकार हुने गरेका छन् । पितृसतात्मक समाजमा विद्यमान कुरीति र अन्धविश्वासका कारण महिला आफ्ना व्यक्तिगत विषयमा समेत स्वयं निर्णय गर्न पाएका छैनन् ।शताब्दीयौँ देखि व्याप्त कुसंस्कार, कुरीति र कुप्रथाका नाममा महिलाहरू तराईमा उत्पीडित छन् । ‘थर्ड एलायन्स’ नामक गैरसरकारी संस्थाकाअनुसार तराईमा हुने बलात्कारका घटनामध्ये केवल १५ प्रतिशत घटना मात्र सार्वजनिक हुने गरेका छन्।
स्वास्थ्यको कुरा गर्दा तराईका धेरै महिला आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित छन् । कतिपय परिवारमा त महिलाले स्वास्थ्य उपचार गर्न समेत घरमा श्रीमान्, सासू, ससुरा, जेठाजुको अनुमति लिनुपर्छ ।

साथै उपचार गर्न जाँदासमेत ती महिलालाई के भएको हो भन्ने कुरा पनि आफन्तले नै डाक्टरलाई भनिदिनु पर्ने अवस्था आउँछ ।तराईमा व्याप्त बाल विवाह, जन्मान्तरको फरक कम हुने, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमीका कारण समस्या भयावह छ । लाजका कारण रोग लुकाएर बसेका महिलाको संख्या ठूलो छ । उनीहरू समाजिक अपहेलनाका हुने भयले उपचारमा नआउँदा समस्या अझ विकराल र उनीहरूका कथा दर्दनाक छ । सरकारले गर्भवती महिलाको मृत्युदर कम गराउन सुरक्षित मातृत्व कार्यक्रममा वर्षेनी करोडौं रूपैयाँ खर्च गरे पनि तराईका केही जिल्लामा भने यो कार्यक्रम प्रभावकारी हुन सकेको छैन । मातृ स्वास्थ्यको तथ्यांक केलाउँदा १५–४९ उमेर समूहका महिलामा देखिएको रक्तअल्पताल सबैलाई झस्काउने खालको छ । सन् २००६ मा प्रजनन् उमेरका ३६ प्रतिशत महिलालाई रक्तअल्पता भएको थियो, २०१६ मा यो बढेर ४१ प्रतिशत पुग्यो । प्रदेश २ का महिलाहरूको मात्रै रक्तअल्पताको तथ्यांक लिने हो भने स्थिति झनै खराब देखिनेछ ।महिलामा रक्तअल्पताको तथ्यांक बढ्नुको अर्थ महिला स्वास्थ्यमा खराबी हुनु हो । सबै गर्भवती महिलालाई आइरन चक्की दिइए पनि रक्तअल्पता किन बढिरहेछ ? यसको जवाफ खोज्नैपर्छ । रक्तअल्पता भएका महिलाको गर्भको बच्चा पनि सानो हुन्छ र कतिपयलाई बचाउनै गाह्रो हुन्छ । अर्कोतिर, रगतको कमी भएका महिलाको प्रसूतिपछि अलिकति रगत बगे पनि मृत्यु हुने सम्भावना बढी हुन्छ।सर्वेक्षणहरूले नेपालमा महिला स्वास्थ्यमा सुधार भएको देखाए पनि तराईमा महिलाको अवस्था कहालिलाग्दो छ । स्त्रीरोग विशेषज्ञहरूले प्रजनन् र मातृ स्वास्थ्यबारे गम्भीर तथ्य बाहिर ल्याएका छन् । अस्पताल पुग्नेहरूमा आवश्यकभन्दा बढी शल्यक्रियाले ती क्षेत्रका महिलाहरूको स्वास्थ्यमा नकारात्मक असर परीरहेको छ । अनावश्यक शल्यक्रियाले महिलालाई पिसाब चुहिरहने समस्या (फिस्टुला) भईरहेको पाईएको छ ।

यस्ता समस्याले महिलाको पारिवारिक, सामाजिक र दाम्पत्य जीवन तहसनहस बन्दैछ । त्यस्ता महिलाहरू भावनात्मक रूपमा समेत निकै कमजोर मानसिक रूपमा समेत अस्वस्थ हुने गरेका छन् । तथ्याङ्गकहरूका अनुसार ४३ प्रतिशत महिलाले प्रसूतिका लागि अहिले पनि स्वास्थ्य सेवा पाएका छैनन् । नेपालको तराई जिल्लाहरूमा ६० देखि ८० प्रतिशत महिलाले प्रसूति सेवा पाएका छैनन् । राजनीतिक गर्नुसँगै अब मधेशको नेतृत्वले यी बियायहरूमा पनि नजर लगाउनु पर्छ । सन् २००९ को तुलनामा हाल गर्भवती र सुत्केरी अवस्थामा हुने मातृ मृत्युदरमा कमी आएको देखिन्छ । तर मृत्यु हुने आमाहरूमध्ये बच्चा जन्माइसकेपछि २८ प्रतिशतको मृत्यु हुन्थ्यो भने सन् २०१६ मा यो बढेर ४९ प्रतिशत पुगेको थियो । त्यसैले बच्चा जन्माइसकेपछि कसरी आमाको मृत्यु हुन्छ भन्ने विषयमा गम्भीर अध्ययन हुन आवश्यक देखिन्छ । रगत धेरै बगेर, संक्रमण भएर, मुटुमा समस्या भएर वा अरू धेरै कारणले बच्चा जन्माइसकेपछिको अवस्थामा मातृ मृत्युदर बढेको मानिन्छ ।गर्भावस्थाको संक्रमण भएर सन् २००९ मा ७ प्रतिशत मातृमृत्यु हुन्थ्यो भने २०१६ मा बढेर १० प्रतिशत पुगेको थियो । गर्भपतनमा जटिलताका कारण १० प्रतिशत मातृमृत्यु हुन्थ्यो भने सन् २०१६ मा यो संख्या बढेर १३ प्रतिशत पुगेको थियो । सुरक्षित गर्भपतनका लागि कानूनले सुविधा दिए पनि अझै स्वतन्त्र र सुरक्षित तरिकाले गर्भपतन गर्ने वातावरण बन्न सकेको छैन । गर्भवतिलाई दिइने चक्कीले मात्रै महिलाको कुपोषण र रक्तअल्पता रोक्न सक्दैन । दैनिक जीवनमा सहजै प्राप्त हुने पौष्टिकताले भरिपूर्ण खानेकुराबारे उनीहरूलाई जानकारी दिन पनि छलफल हुनुपर्छ । तराईमा २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ । भारत सरकार, भारतीय राजदूतावासबाट नेपाल–भारत सहयोग कार्यक्रम

अन्तर्गत हेल्दी नेपाल कम्युनिटी फाउण्डेसनले तराईका ९ जिल्लामा गरेको स्वास्थ्य परीक्षण र उपचारसहितको अध्ययनले करिब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारको पाठेघर खस्ने समस्या रहेको पाइएको थियो ।फाउण्डेसनले तराईका ९ जिल्लाका ४५ हजार महिलाहरूको सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरेको थियो। ४५ हजार महिलामध्ये ३४ हजार ९ सय ६० को पाठेघर खस्ने समस्या पहिलो स्टेजमा रहेको पाइएको थियो । महिलाको पाठेघर तल झर्नुलाई पाठेघर खसेको वा आङ खसेको भनिन्छ । पाठेघरसँगै योनी मार्गका साथमा मूत्रथैली र गुदद्वारको केही भाग समेत झर्ने हुन्छ । समयमा रोकथाम र उपचार भएन भने पछि यो योनीको मुखसम्म आएर महिलालाई साह्रै पीडा दिन्छ । यो समस्या तराईका महिलामा भयावह रूपमा छ । यस अवस्थामा दिसापिसाब गर्दा दुख्ने वा गाह्रो हुने, सम्भोग गर्दा दुख्ने वा गाह्रो हुने, बच्चा जन्माउँदा व्यथा लामो लाग्ने र गाह्रो हुन सक्दछ । धनुषा जिल्लाका ७० प्रतिशत महिला अझै पनि घरमै सुत्केरी हुन बाध्य भैरहेको तथ्य एक सरकारी अध्ययनले देखाएको छ । महोत्तरीमा पनि ५२ प्रतिशत महिलाले घरमै बच्चा जन्माएका छन् । रौतहटमा ५१ प्रतिशतले घरमै बच्चा जन्माएको तथ्यांक पाइएको छ । कपिलवस्तुमा ४८ प्रतिशत, सर्लाही र पर्सामा ३६÷३६ प्रतिशत र बारामा ३२ प्रतिशतले घरमै बच्चा जन्माएको प्रारम्भिक तथ्यांक स्वास्थ सेवा विभागको थियो । तराईका महिलामध्ये पनि दलित र मुस्लमान महिलाको पीडा अरू महिलाको भन्दा बढी छ । यस क्षेत्रको वैवाहिक अवस्थाको प्रसङ्ग कोट्याउँदा कुल महिलाको संख्या ६७ लाख ७२ हजार ३२३ रहेकोमा ६० हजार ३१६ बालिकाको १० वर्षभन्दा कम उमेरमा विवाह भएको देखिन्छ । यसप्रकार अधिकांश महिलाको विवाह १८ वर्ष अगावै भएको भन्न सकिन्छ । विवाहित महिलामध्ये पनि धेरैको २० वर्ष अघि नै बच्चा जन्मिसकेको हुन्छ । यस भयावह अवस्थाबाट सुधार पाउन प्रदेश ०२को ‘बेटी पढाउ बेटी बचाउ’ अभियानले केही सार्थक परीणाम ल्याउने आशा गर्न सकिन्छ त त्यती मात्र प्रयाप्त छैन । (मधेश दर्पण फिचर सेवा)

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…