विपन्नलाई गल्याङ नगरपालिकाको सहयोग

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर नौ मा रहेको एक विपन्न परिवारलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर नौ साङ्लीया रिपमा रहेको एक विपन्न परिवारलाई नगरपालिकाले सहयोग गरेको हो । स्थानीय पदमबहादुर सोमै मगरको परिवारलाई गल्याङ नगरपालिकाले जस्तापाता, खाद्यान्न सहितका सामाग्रीहरु प्रदान गरेको स्थानीय परसुराम अर्यालले जानकारी दिनुभयो । फागुन १५ गते सोमै मगरको निधन भएकोमा परिवारमा आर्थिक समस्या रहेको बारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थानीय नेता समेत रहनुभएका अर्यालले नगरप्रमुख भुपराज अधिकारीलाई जानकारी गराउनुभएको थियो ।
अर्यालको निबेदन पछि नगरप्रमुख अधिकारीले घरका लागि आवश्यक जस्तापाता सहित खाद्यान्न सामाग्रीहरुको व्यवस्था गर्नुभएको हो ।

नगरप्रमुखले सहयोग गरेको जस्तापातालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थानीय युवा नेता दिपक मगरको पहलमा घरमा लगाईएको छ । चुहिएको खरको छाना हटाएर जस्तापाताले घर छाइएको हो । नगरप्रमुख बाट विपन्न परिवारलाई सहयोग गरेकोमा स्थानीय हर्षित भएका छन् । सोमै मगरको परिवारले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएका छन् । नगरप्रमुख अधिकारीले नगरपालिका भित्र धेरै विपन्न परिवार रहेको भन्दै सबैको आर्थिक उन्नतीका लागि आफुले सक्दो पहल गरिरहेको बताउनुभयो । उहाँले एक दुई पटक सहयोग भन्दा पनि सहयोग गर्न नपर्ने वातावरण बनाउनका लागि नगरपालिकाले स्थानीय आर्थिक विकास लगायतका विभिन्न योजनाहरु अगाडी सारेको बताउनुभयो