बोधी भिल्ला बेङ्क्वेटको उद्घाटन

२८ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल, २७ फागुन । रुपन्देहीको तिलोत्तमा–९ मंगलापुरमा सञ्चालित बोधी भिल्ला बेङ्क्वेटको उद्घाटन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठले मंगलबार बेङ्क्वेटको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै श्रेष्ठले रुपन्देहीमा पर्यटन व्यवसायको प्रशस्त संभावना रहेकाले आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरेर स्तरीय पुर्वाधार बनाउन सुझाव दिए । सिद्धार्थ राजमार्गसंगै जोडिएको जग्गामा एकपटकमा पांच हजार जनालाई सेवा दिन सकिने र पर्याप्त पार्किङ क्षेत्र सहित बेङ्क्वेट सञ्चालनमा आउनुले रुपन्देहीको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने श्रेष्ठले बताए । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिई नसकेपनि हल्लाकै कारण नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रमा गम्भीर धक्का लागेको उल्लेख गर्दै श्रेष्ठले सरकारले विमानस्थल र सीमा नाकाहरुमा उच्च सतर्कता अपनाई अर्थतन्त्रमा असर पर्न नदिन भूमिका खेल्नुपर्नेमा जोड दिए । अहिले अनावश्यक हल्लाकै कारण पर्यटन व्यवसाय र अर्थतन्त्रमा नकारात्मक असर परेकाले सरकारले अर्थतन्त्र जोगाउन गम्भीर बन्नुपर्ने सुझाव दिए । स्थानीय उद्योगी चन्द्रमान श्रेष्ठको परिवारको एकल लगानीमा मंगलापुरमा रुपन्देहीकै ठूलो बेङ्क्वेट सञ्चालनमा आएको हो । मल्टि फङ्सनल बेङ्क्वेटमा एकपटकमा पांच हजार जनासम्मलाई सेवा दिन सकिने बोधि भिल्ला प्रालिका प्रबन्ध निर्देशक अनुप श्रेष्ठले बताए । ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन थालेको र बुटवल तथा भैरहवा दुबै शहरका सेवाग्राहीका लागि मध्य भागमा सेवा दिने उद्देश्यले जिल्लाकै ठूलो बेङ्क्वेट र रक गार्डेन रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हौं’–श्रेष्ठले भने–‘भविष्यमा सेवा विस्तार गरी ४० बेडको लज र स्वीमिङ पूल पनि सञ्चालन गर्ने लक्ष्यछ ।’ बेङ्क्वेट परिसरमा माछापालन गरिएको पोखरीमाथि पुल बनाएर मनमोहक दृश्य बनाइएको छ । बेङ्क्वेट परिसरमा सागसब्जी खेती र वातावरण संरक्षणका लागि विभिन्न प्रजातिका एकहजार बृक्षरोपण पनि गरिएको छ । ग्राहकले फिशिङ गर्न र जिउंदो माछाको परिकारको स्वाद लिन पाउने व्यवस्था गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय र आफ्ना ग्राहकलाई बेङ्क्वेट परिसरमा ब्याडमिन्टन र बास्केटबल कोर्ट तथा खेल मैदान निःशुल्करुपमा उपलब्ध गराएको प्रालिका व्यवस्थापक छविलाल थापाले बताए । प्रालिमा हाल ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रालिको रेन्टुरेन्टमा दुबईमा सम्पन्न वल्र्ड सेफ च्याम्पियनसीप २०१६ का विजेता यादव पराजुली मुख्य सेफका रुपमा कार्यरत रहेका छन् । उनी समुद्री खानाका परिकारका लागि प्रख्यात सेफ हुन् । ६ महिनासम्म परीक्षण सेवापछि प्रालिले होली पुर्णिमाको अवसर पारेर मंगलबार औपचारिकरुपमा उद्घाटन गरेको हो । उद्घाटनका अवसरमा प्रालिले चर्चित राष्ट्रिय कलाकारहरु हर्कुलेस बस्नेत,प्रताप दास,विल्सन श्रेष्ठ,सन्धया जोशी,जोहेब शाह, अफ्सर अली,हास्य कलाकार शुशिल आले लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहेको इभेन्ट म्यानेजर आलोक भट्टराईले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया