वामदेवलाई सांसद बनाउन सकिन्छ :-झलनाथ

प्रकाशित मिति:

असोज २७, २०७५ काठमाडौं– नेकपाका सचिवालय सदस्य वामदेव गौतम काठमाडौं क्षेत्र नम्बर ७ बाट सांसद बन्ने योजनाबाट पछि हटेपनि नेकपाकै एकजना सचिवालय सदस्य झलनाख खनालले गौतमलाई अन्य कुनै सुरक्षित निर्वाचन क्षेत्रबाट निर्वाचित गर्न सकिने बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्य झलनाथ खनालले गौतमको प्रतिनिधिसभामा जाने इच्छाको सम्मानका लागि ‘अन्य कुनै सुरक्षित निर्वाचन क्षेत्रमा जान सकिने’ बताएका हुन् ।

वामदेव काठमाडौं क्षेत्र नम्बर सातबाट उम्मेदवार बन्ने कुराले तरंग ल्याएको बताउँदै नेता खनालले अरु निर्वाचन क्षेत्रमा सम्भावनाहरु हुन सक्ने बताएका हुन् ।

उनले भने,‘एक ढंगमा यो तरंग आयो र गयो जस्तो छ । अरु निर्वाचन क्षेत्रबाट त्यस्तो सम्भावनाहरु हुन सक्दछन् । प्रतिनिधिसभामा आउने इच्छा व्यक्त गरिरहँदा वामदेव कमरेडले उपयुक्त र सुरक्षित क्षेत्र कुन हो भन्ने चाँही राम्ररी पहिल्याउनु आवश्यक छ ।’

केही समय अघि नेता खनालले नेकपामा गुटको अभ्यास भए सबैभन्दा ठूलो गुट समूह आफूले बनाउने बताएका थिए । गौतमलाई आफ्ना पक्षामा ल्याउन खनालले गौतमका लागि सुरक्षित  निर्वाचन क्षेत्रमा जान सकिने बताएका हुन सक्ने नेकपाका एकजना नेताले बताए ।

गत बुधबार काठमाडौं क्षत्रे नम्बर सातका सांसद रामवीर मानन्धरले सचिवालय सदस्य गौतमलाई सांसद बनाउनका लागि आफूले पार्टी अध्यक्ष प्रचण्डसमक्ष राजीनामा बुझाएको भन्दै पत्रकारसम्मेलन गरेका थिए जसलाई नेकपाका अन्य सचिवालय सदस्यले नै अप्रत्याशित भनेका थिए ।

रामवीरले गौतमलाई सांसद बनाउनका लागि सीट खाली गर्ने भनेसँगै मानन्धरसहित गौतमको पनि आलोचना राजनीतिक वृत्तमा भएको थियो । जसले वामदेव र नेकपा पार्टीलाई घाटा पुगेको थियो ।

चौतर्फी आलोचना र विवाद भएपछि वामदेव गौतम स्वयंले आफू काठमाडौं क्षेत्र नम्बर सातबाट नउठ्ने बताएका थिए । उनले बीबीसी नेपालीसँगको एक अन्तर्वार्ताका क्रममा बर्दियामा आफूलाई हराउन लागेका केही शीर्ष नेता पुन सक्रिय भएको भन्दै आरोप समेत लगाएका थिए ।

वामदेवलाई सांसद बनाउन कसरत गरिरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार पार्टी अब काठमाडौं ७ बाट चुनाव लड्ने लफडामा नफस्ने बताएका थिए । उनले गौतम स्वयंले आफू चुनाव नलड्ने बताएकाले यासको चर्चा सकिएको दाबी गरेका थिए ।

गौतमको उम्मेदवार बन्नेभएसँगै नेकपाका नेता कार्यकर्ता पक्ष–विपक्षमा विभाजित हुन थालेपछि प्रचण्डको पछिल्लो अभिव्यक्ति आएको हो । त्यसअघि प्रचण्डले वामदेवले हार्ने गरि चुनाव नहुने बताएका थिए ।

विश्वासको संकट

आफू पक्षधर सांसद रामवीर मानन्धरले कुनै सल्लाह नगरि अर्का अध्यक्ष प्रचण्डमार्फत सांसद पद वामदेवका लागि खाली गर्ने सहमति गरेको र राजीनामा समेत प्रचण्डमार्फत सचिवालय बैठकमा पठाएसँगै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली शशंकित भएको थियो ।

प्रचण्ड, वामदेव, मावकुमार नेपाल लगायतले आफूलाई घेरावन्दी गर्न लागेको ठानेका केपी ओली पक्षका नेता कार्यकर्तासमेत वामदेव सांसद बन्ने विषयमा विषक्षमा उभिए । आफू अनुकुलको वातावरण नभएको र उम्मेदवार भएपनि पार्टी पंक्तिले एकतावद्ध भएर नसघाउने सम्भावनाको मुल्यांकन गरेका वामदेव अन्तिममा काठमाडौं क्षेत्र नम्बर सातबाट उम्मेदवार बन्ने योजनाबाट पछि हटे जसबाट प्रचण्डलाई समेत धक्का लागेको छ ।