नेकपा निकट कलाकारको दादागिरी , पार्टीका कलाकारलाई नबोलाउंदा मेला बन्द गरायौं : लेकाली (अडियो सहीत )

प्रकाशित मिति:

सबलपोष्ट बुटवल, ३ चैत । सत्ता र शक्तिको दम्भमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट कलाकारको ठेकेदारले दवाव दिएर महिला उद्यमीहरुले बुटवलमा सञ्चालन गरेको ब्यापार मेला स्थगित गराएको रहस्य खुलेको छ । आफूलाई नेकपा निकटको कलाकार बताउने नारायण खनाल लेकालीले कम्युनिष्टका नेता कलाकारलाई स्टेजमा नबोलाएका कारण मेला बन्द गरिदिएको फोन संवाद सार्वजनिक भएसंगै सत्ताको आडमा कम्युनिष्टहरुले कतिसम्म हर्कत गर्दारहेछन् भन्ने पुष्टि भएको छ । लेकालीले ‘वामपन्थी नेता कलाकार’हरुलाई स्टेजमा प्रस्तुतिका लागि निम्ता नगरिएको कारण आफूले मन्त्रीहरु र प्रमुख जिल्ला अधिकारीलाई थर्काएर महोत्सवमा बन्द गराएको दावी गरेको फोन वार्ताको अडियो सार्वजनिक भएको छ । उनले आफूभन्दा वरिष्ठ कलाकार बद्री पंगेनी, चन्द्र शर्मा लगायतका कलाकारलाई तुच्छ शब्दमा अपमानित समेत गरेका छन्  । राजनीतिक पूर्वाग्रह राखेका लेकालीले नेकपाका कलाकार सबैको जिम्मा आफूले लिएको भान पार्ने गरी जयसवाललाई फागुन २७ गते राति धम्क्याएका थिए । चन्द्र शर्मा र रामजी खाँड जस्ता काला कांग्रेसले अब मेला नचल्ने भन्दै आफू भने कालो कम्युनिष्ट भएको दम्भ अडियोमा सुनाएका छन् ।

पाल्पा जिल्लाको रामपुरबाट हाल बुटवलको सुख्खानगर निवासी लेकाली सेवा निवृत प्रावि तहका शिक्षक हुन् । केही वर्षअघि बुटवलको गोधुली रोधी घर संचालन गरेका लेकाली तत्कालिन नेकपा एमाले निकटको जनसांस्कृतिक मंचमा आबद्ध थिए । लोक दोहोरी गीत प्रतिष्ठानमा एक पटक केन्द्रीय सदस्य बनेका लेकाली अघिल्लो चुनावमा प्रतिष्ठानको केन्द्रीय उपमहाचिवमा चुनाव लडेर हारेका थिए । प्रतिष्ठानको गत निर्वाचनमा केन्द्रीय सचिवमा लडेका लेकाली पुनः पराजीत भएका थिए  । यसअघि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको कारण मेला बन्द गराइएको बताएको थियो । तर मेलाका सांस्कृतिक कार्यक्रम संयोजक राजबीर जैसवालसंगको संवादमा लेकालीले बुटवल कम्युनिष्टको ‘राज्य’ भएको तर मेलामा वामपन्थी नेता कलाकारलाई नबोलाएकाले आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई दिउसै फोन गरेर थर्काएर बन्द गराएको उल्लेख गरेका छन् । कांग्रेस निकट धेरै कलाकारलाई बोलाउंदा कम्युनिष्ट कलाकारहरु अन्यायमा परेको भनेर गुनासो आएपछि २२ जना कलाकारकै सामुन्ने आफूले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी, सामाजिक विकास मन्त्री सुदर्शन बराल र प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई टेलिफोन गरेर मेला बन्द नगरे युवा संघका ‘केटाहरु’लाई लगेर गेट भत्काएर आफै बन्द गराइदिने चेतावनी दिएपछि बन्द भएको बताएका छन् । मेला बन्द गराउन आफ्नो घर, तिलोत्तमाको एसआर होटल,बुटवल र भैरहवामा वैठक समेत बसेको र चर्को दवाव दिएर आन्दोलन गरेपछि जिल्ला प्रशासन कार्यालयले बन्द गराएको लेकालीले बताएका छन् । मेलामा केही कम्युनिष्ट कलाकार बोलाएकामा उनले उनीहरुलाई ‘घांस’ कलाकार भनेर होच्याएका छन्  ।

आफू अर्बपति भएको, ५० लाखको गाडी चढेर हिंड्ने र ‘जेन्युन पर्सन’ भएको उल्लेख गर्दै लेकालीले कम्युनिष्टको सरकारबाट पैसा लिएर कांग्रेसका कलाकारलाई उफार्ने कुरा सहन नसकिने बताएका छन् । नेकपा निकट कलाकारलाई नबोलाए प्रदेश ५ भरि नै मेला महोत्सव गर्न नदिने उनले धम्की दिएका छन् । उनले कम्युनिष्टको ठाउंमा कांगे्रसका कलाकारलाई स्टेजमा बोलाउंदा ढुंगामुढा खानु स्वभाविक भएको फोन संवादमा भनेका छन् । कम्युनिष्टको ठाउंमा कांग्रेस कलाकार हावी भएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई फोन गरेर समेत आफूले ठेगान लगाउन सक्ने उनको अभिव्यक्तिमा झल्किन्छ । ‘हाम्रो पैसाले कांग्रेसले ढलीमली गर्ने हाम्रा साथीहरु बीच पर्ने भनेर हामी आन्दोलन ग¥यौं’–लेकालीले भनेका छन् –‘पांच जना नेता खाले (कम्युनिष्ट) कलाकार बोलाएको भए बुटवल मेला बन्द हुंदैनथ्यो, च्यानल मिलाएर चल्थ्यो,कोरोना त बाहिर देखाउन मात्र भनिएको हो ।’ लेकालीले प्रदेश सरकारबाट आयोजकलाई दिने भनिएको रकम कुनै हालतमा नदिने बनाउने समेत धम्की दिएका छन् । मेलालाई उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयले पांच लाख रुपैयां दिने सहमति भएको आयोजकको भनाई छ । कृषि मन्त्रालयले पनि केही रकम दिने भनेको थियो । लेकालीले सभामुख,उपसभामुखका स्वकीय सचिव,पत्रकार सल्लाहकारहरु आफ्नो चारतले घरको भुइतलामा बस्ने गरेको भन्दै आफू सम्पत्तिवाल र पहुंचवाला व्यक्ति भएको फोन वार्तामा उल्लेख गरेका छन् । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष चन्द्र शर्मालाई ‘कालो कांग्रेस’ र बद्री पंगेनीलाई ‘कालो कम्युनिष्ट’को संज्ञा दिंदै लेकालीले कम्युनिष्टको सरकारका पालामा चन्द्र शर्माले देश चलाउन नसक्ने बताएका छन् । लेकाली लोक दोहोरी गीत प्रतिष्ठानका पुर्व केन्द्रीय सदस्य हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ ले फागुन २१ गतेदेखि चैत २ गतेसम्म सञ्चालन गर्ने गरी शुरु गरेको मेला एकहप्ता नहुंदै स्थगित भएको थियो । मेला स्थगित गर्नुको कारणबारे बुझ्न खोज्दा सहायक प्रमुख जिल्ला अधिकारी भरत शर्माले कोरोना भाइरसको त्रास र मिडियामा समेत आलोचना भएकाले प्रशासनले बन्द गर्नुपरेको बताए । उनले कलाकारहरुको दवावकै कारण मात्र मेला स्थगित गरिएको बारे आफूलाई जानकारी नभएको बताए । मेला पूरा समय सञ्चालन गर्न नपाउंदा ८० लाख रुपैयां घाटा बेहोर्नुपरेको आयोजक शान्ति शर्माले बताइन् ।