उद्योगीले बुझाए ज्ञापनपत्र ,ट्रंकलाइन बापतको महसुल मिनाहा गर्न माग

प्रकाशित मिति:

भैरहवा –  भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ वटा ठुला उद्योगहरुले आफूहरुको माग विपरित जडान भएको ट्रंकलाइन बापतको महसुल मिनाहा गर्न माग गरेका छन् ।सोमबार नेपाल विद्युत प्राधिकरण भैरहवा र मणिग्राम वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले प्राधिकरणको आन्तरिक लोड व्यवस्थापनका नाममा उद्योगीहरुमाथि ट्रंकलाइनको भार थोपरिएको भन्दै यसबापतको शुल्क मिनाहा गर्न माग गरेका हुन् ।विद्युत महसुल विनियमावली २०७३ बमोजिम ट्रंक तथा डेडिकेटेड फिडर सरहको कुनै पनि माग वा सम्झौता नगरी अन्य गैरऔद्योगिक ग्राहक सरह लोडसेडिङको समयमा उद्योग बन्द गरी बसेका र विनियमावलीमा लेखिएको मासिक शुल्क र इनर्जी शुल्कको बिलिङ गर्ने कार्य नियमावलीसम्मत नभएको उद्योगीहरुको तर्क छ । साधारण महसुल तिर्दै आएका उद्योगीलाई विद्युत प्राधिकरणले २०७५ बैशाख देखि २०७६ मंसिरसम्म ट्रंकलाइनबापतको छुट महसुल भन्दै अर्को बिल पठाएपछि उद्योगीहरुले प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् । भैरहवा–बुटवल कोरिडोरका २२ वटा उद्योगमा ३० अर्ब बढी लगानी रहेको र ट्रंकलाइनका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेको पञ्चकन्या ग्रुपका महाप्रवन्धक देवेन्द्र साहुले बताउनुभयो ।

भैरहवा–बुटवल कोरिडोरका उद्योगहरुमा ट्रंक लाइन प्रयोग गरेबापत प्राधिकरणले भुक्तानीका लागि ३० करोड भन्दा बढी बक्यौताको बिल पठाएको छ । सामान्य भन्दा ६६ दशमलव ६७ प्रतिशत बढी विद्युत महसुल माग गरेकाले उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।भैरहवा–बुटवल कोरिडोरमा पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज प्रालि, पञ्चकन्या स्टील प्रालि, सोना प्याकेजिङ, एसआर स्टील प्रालि, नवनेपाल प्लाष्टिक« इण्डष्ट्रिज, शुभलक्ष्मी पोलिमर्स, नेशनल ट्रेड रबर इण्डष्ट्रिज, जयदुर्गा प्लाष्टिक इण्डष्ट्रिज, सोना पोलिमर्स इण्डष्ट्रिज, यशोधा फूड प्रालि, प्रिया प्याकेजिङ रहेका छन् । त्यस्तै एजी हेल्थ इण्डष्ट्रिज, एभरेष्ट रोलिङ इण्डष्ट्रिज प्रालि, लुम्बिनी फ्लोर मिल, फेरो स्टील प्रालि, लुम्बिनी पएसी इण्डष्ट्रिज प्रालि पनि यही कोरिडोरमा सञ्चालित छन् । प्राधिकरणले ती उद्योगहरुमा अमुवास्थित पुरानो फिडरबाट लाइन वितरण गर्दै आएको थियो । तर आफ्नो आन्तरिक लोड मिलान तथा फेज सिक्वेन्स ब्यालेन्स गर्न भरवलिया केन्द्रबाट २०७४ चैतदेखि उक्त लाइन जडान गरिदिएका कारण आफुहरु मर्कामा परेको उद्योगीहरुको भनाइ छ । बिगतमा ३३ केभिए लाइनबाट सञ्चालन हुँदै

आएका ती उद्योगहरुमा प्राधिकरणले उच्च दररेटको ट्रंकलाइनमार्फत विद्युत आपूर्ति गर्दै आएको र नियमित बिल तिर्दै आएका उद्योगीलाई छुट बक्यौता भन्दै २० महिनाको ट्रंक लाइनबापतको बिल पठाएपछि उद्योगीहरु आन्दोलनमा छन् ।उनीहरुले यसअघि काठमाडौंमा उर्जामन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।यता विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झा ले उद्योगीहरुलाई जानकारी गराएर ट्रंकलाइन जोडिएको भन्दै यसको समाधान केन्द्रबाटै हुनुपर्ने बताएको छ । अहिले विद्युत नियमन आयोग बनिसकेकाले त्यो आयोगले निर्णय नगरेसम्म यहाँबाट बक्यौता महसुल छुट गर्न नसकिने उहाँले बताउनुभयो । प्राधिकरण नयाँमिल वितरण केन्द्रका प्रमुख कमर अलि खाँले उद्योगीहरुका माग जायज रहेको बताउनुभयो । “उद्योगीहरु अन्यायमा परेकै हुन्, तर यहाँबाट हामीले केही गर्न सक्दैनौं, माथिबाटै यसको समाधान खोजिनुपर्छ”–उहाँले भन्नुभयो ।सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उच्च दररेटको विद्युत महसुलका कारण उद्योगको उत्पादन लागत बढेकोले बजारमा प्रतिष्पर्धा गर्न समस्या भएको भन्दै प्राधिकरणले तत्काल माग पूरा गर्नुपर्ने बताउनुभयो । उद्योगीहरुले माग पूरा नभए उद्योग बन्द गरी आन्दोलनमा जाने समेत बताएका छन् ।