चिनियाँ विदेश मन्त्रालयले दियो अमेरिकालाई चेतावनी

प्रकाशित मिति:

बेइजिङ  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटमार्फत नोभेल कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेको भन्दै चीनले आक्रोश व्यक्त गरेको छ ।ट्रम्पले सोमबार गरेको ट्विटमा विश्वभर फैलिएको नोभोल कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका थिए । उनले ट्विटमा भनेका थिए, “चिनियाँ भाइरसबाट प्रभावित उद्योग, विमान कम्पनीलाई संयुक्त राज्यले बलियो सहयोग गर्नेछ । हामी विगतभन्दा निकै शक्तिशाली भएका छौं ।”ट्रम्पको उक्त अभिव्यक्तिमा प्रयोग गरिएको ‘चिनियाँ भाइरस’ को संज्ञाप्रति चिनियाँ विदेश मन्त्रालयले आक्रोश व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई चेतावनी दिँदै भनेको छ,” चीनलाई आरोप लगाउनुभन्दा पहिले आफ्नो मामिलामा ध्यान दिइयोस् ।”सन् २०१९ मा पहिलोपटक चीनको वुहानमा नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ का संक्रमित भेटिएका थिए । यद्पि गत साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले षड्यन्त्रको सिद्धान्तअनुरुप चीनमा अमेरिकी सेनाले कोरोना भाइरस फैलाएको आरोप लगाएका

थिए ।उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोलाई चीनलाई आरोप लगाएर गलत सूचना फैलाउन बन्द गर्न माग गरेका थिए ।विश्वभर हालसम्म एक लाख ७० हजार कोरोना संक्रमित भेटिएका छन् । जसमा ८० हजार चीनमा मात्र भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यद्पि मंगलबार भने चीनमा एकजना मात्रै कोरोनाको स्थानीय संक्रमित भएको र अन्य विभिन्‍न मुलुकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस देखिएको चीनले दाबी गरेको थियो ।कुनै क्षेत्र वा समूहलाई आरोपित नगर्न डब्लुएचओको चेतावनी  – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कुनै क्षेत्र वा समूहलाई यस भाइरसँग जोडेर आरोपित नगर्न चेतावनी दिएको छ ।उक्त चेतावनीसँगै डब्लुएचओले यस भाइरसको नाम को- कोरोना, भी- भाइरस र डी- डिजिज् र संक्रमण सुरु भएको वर्ष २०१९ लाई एकत्रित गरी यस भाइरसको नाम कोभिड-१९

राखेको थियो ।तर, पनि केही अमेरिकी अधिकारीहरुले यस भाइरसलाई बारम्बार चिनियाँ भाइरस भन्‍ने गरेका छन् ।यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले यस भाइरसलाई ‘वुहान भाइरस’ को संज्ञा दिएका थिए ।राष्ट्रपति ट्रम्पले सोमबार यसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले चीनलाई आरोपित गर्न अधिक ट्विट गरिएको बताए ।उनले भने, “हामी अमेरिकालाई आफ्नो गल्ती सच्याउन र, चीनविरुद्ध आधारहीन आरोप लगाउन बन्द गर्न आग्रह गर्छौं ।”चिनियाँ समाचार संस्था सिन्ह्‍वाले राष्ट्रपति ट्रम्पको भाषा ‘नस्लवादी’ र ‘पूर्वाग्रही’ भएको उल्लेख गरिएको छ । सिन्ह्वाले भनेको छ, “भाइरसको जोखिम बढिरहेका बेला एक राजनीतिज्ञको गैरजिम्मवारीपन र गैरप्रतिस्पर्धी भएको प्रमाणित हुन्छ ।”राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्तिप्रति अमेरिकीहरुले समेत आलोचना गरेका छन् । न्युयोर्कका मेयर बिल डी ब्लासियोले एसियन-अमेरिकनप्रतिको कट्टरपन्थी व्यवहार देखाएको बताएका छन् । – बीबीसी