कोराना विरुद्ध नौ विद्यार्थी संगठनले अभियान चलाउने

प्रकाशित मिति:

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउन विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त रुपमा अभियान चलाउने भएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ को अगुवाईमा मंगलबार बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउने आ—आफ्ना मातहतका इकाईलाई परिचालन गर्ने निर्णय गरेका हुन् ।

बैठकले सरकारसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द गर्न पनि माग गरेको छ । बैठकले विमानस्थलसँगै उत्तरी र दक्षिणी सीमानाकाहरुमा मानिसको आवतजावतमासमेत प्रतिबन्ध लगाउन माग गरेको नेविसंघका महामन्त्री युवराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकले एयरपोर्ट बन्द गर्नुपर्ने, नेपाल भारत र नेपाल चीन नाकाहरु सामान बाहेक बन्द गर्नुपर्ने, मान्छेको आवतजावतमा प्रतिवन्ध लगाउनुपर्ने माग गरेको छ । महामन्त्री पाण्डेका अनुसार बैठकले सरकारसँग कालोबजारी रोक्न माग गर्दै विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बजारको अनुगमन गर्ने पनि निर्णय गरेको छ ।

बैठकले सरकारसँग एसईई परीक्षा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि परीक्षा केन्द्रमा चिकित्सकसहितको हेल्थ डेस्क स्थापना गर्न र आइसोलेसन वार्ड स्थापना गर्न पनि माग गरेको छ । नेविसंघका अध्यक्ष ढुंगानाको अध्यक्षतमा बैठकमा विभिन्न राजनीतिक दल निकट नौ विद्यार्थी संगठनहरु सहभागी थिए ।