उमेरको हदबन्दी तोकी महाधिवेशन पर सार्ने खेल भइरहेको छ ः उपाध्यक्ष राना

२९ आश्विन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
1 Shares


नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले संघको १२ औं अधिवेशनका सन्दर्भमा पार्टी नेतृत्वले तानाशाही र अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताएका छन् । संघको दुई महिना अघि बसेको केन्द्रीय समिति वैठकले यही कार्तिक १६, १७ र १८ गते काठमाडौंमा १२औं महाधिवेशनका लागि विधान र नियमावली बनाई सर्वसम्मत पारित गरेर पार्टीमा अनुमोदनका लागि पठाएको थियो । रिपोर्टर्स क्लव नेपाल ५ नं प्रदेश समितिद्धारा सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष रानाले संघले सर्वसम्मत पारित गरेको विधान अनुमोदन नगरी पार्टीले आफ्नो गुटको मान्छे नेतृत्वमा नआउने देखेर उमेर हदको विषय ल्याएर महाधिवेशनलाई फेरि पनि सार्ने खेल खेलेको आरोप लगाए । राना १२ औं महाधिवेशनमा अध्यक्षका दावेदार हुन् ।

११ औं महाधिवेशनका बेला विवाद समाधानका लागि नेता प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको निर्देशक समितिले संघले सर्वसम्मत पठाएको विधानलाई हेरफेर गरेर ३२ वर्षको उमेर हदबन्दी लगाएको र पार्टी केन्द्रीय समितिले वहुमतले विरोधका बिच पारित गरेपछि संघमा फेरि विवाद बल्झेको छ । नेविसंघको विधान तथा नियमावली परिमार्जन गर्नुपरे संघको राष्टिय महाधिवेशन, विधान सभा वा पार्टीबाट अनुमोदन गराउनुपर्ने प्रावधान छ । तर पार्टीले संघको केन्द्रीय समितिले सर्वसम्मत पारित गरी पठाएको विधानलाई पार्टीमा पेश नगरी निर्देशक समितिले आफू अनुकूल फेरबदल गरेर पार्टी केन्द्रीय समितिमा पेश गरेको रानाले बताए । पार्टी नेतृत्वले आफूले चाहेको व्यक्तिलाई टिका लगाएर नेतृत्व दिने निहीत उद्देश्यका साथ उमेर हदको विषय ल्याएको उपाध्यक्ष रानाले बताए । आफूहरु उमेर हदको विरोधी नभएको तर महाधिवेशन सुनिश्चित हुनुपर्ने र नेविसंघको नेतृत्व विद्यार्थीले नै चुन्न पाउनुपर्ने अधिकारका लागि आफूहरुले आवाज उठाएको रानाको दावी छ । विश्वका कुनै पनि विश्व विद्यालयमा र पार्टीका अन्य भातृ संस्थामा उमेर हदको प्रावधान नहुने तर नेविसंघमा मात्रै पार्टीले थोपर्नु अलोकतान्त्रिक र तानाशाही चरित्र भएको रानाले बताए । उपाध्यक्ष रानाले पार्टीले हस्तक्षेप गरेर टिका लगाएर नेतृत्व चयन गरे देशभरका महाधिवेशन प्रतिनिधि बोलाएर नेविसंघका विधान अनुसार समान्नातर समिति बनाउने चेतावनी दिए । निर्देशक समितिको जिम्मेवारी र अधिकार संघमा कुनै विषयमा विवाद आएमा विवाद समाधान गर्नु भएपनि कार्यक्षेत्र बाहिर गएर काम गरेको रानाको तर्क छ । संघमा नैनसिंह महरको नेतृत्व अल्पमतमा रहेकाले महाधिवेशन टार्न प्रपञ्च रचिएको राना पक्षको दावी छ ।
क्लवका प्रदेश उपाध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रम पत्रकार सञ्जु पौडेलको सञ्चालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि