कठिन घडीमा कांग्रेस

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


रामराज शर्मा । नेपाली कांग्रेस लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी हो भन्ने गरिएको छ। तर केही वर्षदेखि यसका नेतृत्वकर्ताका क्रियाकलाप लोकतन्त्रअनुरूप छैनन्। नेपाली कांग्रेसले अर्को वर्ष फागुनमा महाधिवेशन गर्ने घोषणा गरिसकेको छ, जसबाट चयन हुने नेतृत्वकर्ताले यो पार्टीको भविष्य निर्धारण गर्नेमा दुईमत नहोला। कांग्रेस कार्यकर्ताले नेकपालाई कडा चुनौती दिन सक्ने नेतृत्वकर्ता छान्छन् कि पार्टीलाई अझ उँधोतिर लाने रु हेर्न बाँकी छ।

मक्किइसकेको घरलाई पुनर्जीवन दिन सक्ने युवा नेतृत्वकर्ता महाधिवशेनबाट आउन सकेन भने त्यहींबाट दोस्रो प्रजापरिषद्को जन्म हुनेछ। यस अर्थमा अबको महाधिवेशन कांग्रेसको अग्निपरिक्षा पनि हो। नेकपाले सरकार सञ्चालन क्रममा जेजस्ता हर्कत गरिरहेको छ, लोकतन्त्रको मर्मलाई जसरी कुल्चिँदै छ, यी सबै कुरा जनतासामु प्रस्टसँग पु¥याउन सक्ने नेतृत्वकर्ताको खोजी कांग्रेसले गर्नैपर्छ।

सोच र कार्यशैली  पार्टीमा अब युवा नेतृत्वकर्ता चाहिन्छ भन्ने आवाज दबाउन सधैं ‘युवा भनेको उमेर होइन, सोच हो’ भनेर टार्दै मलेसियामा प्रधानमन्त्री बनेका मोहम्मद महाथिरको उदाहरण दिने गरिन्छ। यो कुरा गलत छ। हामीलाई सोचका साथै कार्यशैली पनि युवा चाहिएको हो। सोच युवा, तर हप्तामा ३र४ दिन अस्पताल बस्नुपर्ने नेताले देशको आवश्यकता पूरा गर्न सक्दैनन्। मलेसिया, सिंगापुर, अमेरिकाजस्ता विकास र न्याय–प्रणाली बलियो बनाइसकेका देशमा जुनसुकै उमेरका व्यक्ति नेतृत्वमा आए पनि फरक पर्दैन। तर हामी विकासको नयाँ अध्याय र लोकतन्त्रलाई परिष्कृत गर्ने क्रममै छौं, यस्तो अवस्थामा शारीरिक रूपमा पनि सक्रिय नेतृत्वकर्ताको आवश्यकता पर्छ, मानसिक मात्र होइन।

अबको महाधिवेशनले पार्टीको नेतृत्व सक्षम युवा नेतालाई सुम्पेर नेपाली कांग्रेसलाई नयाँ प्रजापरिषद् बन्नबाट जोगाउनैपर्छ। नेपाली कांग्रेसले सक्षम नेतृत्वकर्ता पायो भने नेकपाको विकल्प नेका नै हुनेमा शंका छैन। राज्य सञ्चालनको जिम्मेवारी वहन गर्नुपर्ने अवस्थामा मुलुकलाई विकासमा दुई छिमेकी राष्ट्रकै रफ्तारमा दौडाउन सक्ने नेतृत्वकर्ता अबको महाधिवेशनले छान्न सक्नुपर्छ। देशमा रहेका प्राकृतिक स्रोतको अधिकतम उपयोग, कृषिमा आमूल परिवर्तन र दिगो विकासका मोडल ल्याउन सक्ने नेतृत्वकर्ताको आवश्यकता छ, अहिले नेका अनि देशलाई।

अब परम्परागत सोचले पार्टी हाँक्न सम्भव छैन। यति वर्ष जेल परेको, प्रहरीको गोली खाएको वा जायजेथा हरण भएको भन्ने आधारमा जनताले भोट दिने जमाना छैन अब। पुराना नेतामा राजनीतिक त्याग र समर्पण त होला, तर विज्ञानको यो चरम विकासको युगमा देश दौडाउन सक्ने क्षमता र सोच उनीहरूमा छैन भन्ने कुरा २०४६ यताका नेता र सरकार प्रमुखले प्रमाणित गरिसकेका छन्। अब पनि नेका कार्यकर्ताले त्यस्तै असक्षम नेतृत्वकर्तालाई पार्टी सुम्पिने हो भने त्यसको असर आउने संसदीय चुनावमा पक्कै देखिनेछ। नेकपाका लोकतन्त्रविरोधी कार्य जानी नजानी बाध्यतावश जनअनुमोदन हुनेछन्, अनि लोकतन्त्र झनै संकटमा पर्नेछ।

पार्टीको मूल नेतृत्व देउवा, पौडेललगायत पुराना पुस्तामै गयो भने नेकालाई कसैले जोगाउन सक्ने अवस्था रहने छैन। देशकै पुरानो र लामो इतिहास बोकेको पार्टी बिलिन हुने बाटोमा जानेछ। मलेसियालाई द्रुत गतिमा विकास गराउने मोहम्मद महाथिर पहिलोपटक प्रधानमन्त्री हुँदा जम्मा ४६ वर्षका थिए। तर हाम्रा नेताले यो कुरो भन्दैनन्, अहिले उनी ९० वर्षको उमेरमा फेरि प्रधानमन्त्री भएको चर्चा मात्र गर्छन्। सन् १९६० को दशकमा विश्वकै गरिब राष्ट्रको सूचीमा रहेको सिंगापुरलाई अति विकसितमा उकाल्ने ली क्वान ३६ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए। ‘आइरन लेडी’ नामले प्रख्यात मार्गरेट थ्याच्चर ५० वर्षको उमेरमा पार्टीको नेता भइन्, बेलायतमै ४१ वर्षका इड मिलिब्यान्ड लेबर पार्टीको नेता हुँदा ४३ वर्षीय डेबिड क्यामरुन प्रधानमन्त्री थिए। भर्खर मात्र फिनल्यान्डमा ३४ वर्षीय सामा मार्लिन प्रधानमन्त्री भएकी छन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डाले ३७ वर्षकै उमेरमा सत्ता सम्हालेकी हुन्। यस्ता कैयौं उदाहरण छन्, जसले युवावस्थामै पार्टी र देशको सफल नेतृत्व गरेका छन्। यी सबैमा के समानता थियो भने उनीहरू उमेरमा मात्र युवा होइन, उनीहरूका सोच र कार्यशैली पनि नयाँ थिए। उमेरले युवा हुने तर कार्यशैली नयाँ नहुने हो भने त्यस्तो नेतृत्वकर्ता पनि सफल हुन सक्दैन भन्ने पाठ बेलायतका लेबर नेता इड मिलिब्यान्ड र भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीको हालसालैको असफलताबाट सिक्न सकिन्छ।

अब नेकाका पहिलो पुस्ताका नेताले अभिभावकका रूपमा रहेर नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्नुको विकल्प छैन। लगातार बहुमतसाथ प्रधानमन्त्री बनिरहेका सिंगापुरका ली क्वान आफैंले सन् १९९० मा पार्टी र सत्ताको नेतृत्व नयाँ पिँढीलाई सुम्पिएका थिए। त्यसपछि उनले वरिष्ठ मन्त्री हुँदै धेरै वर्ष देशको सेवा गरे। जापानमा सन् २००८–२००९ मा प्रधानमन्त्री रहिसकेका तारओ आसो सन् २०१२ देखि लगातार अर्थमन्त्रीको कार्यभार सम्हालिरहेका छन्। अर्थात् देशको आवश्यकताअनुसार प्रधानमन्त्री भइसकेका उनी सामान्य मन्त्रीको हैसियतमा काम गरिरहेका छन्। नेकाका पहिलो पुस्ताका नेताले यस्तो गर्न हुँदैन रु प्रधानमन्त्री नै अनि पार्टी सभापति नै बन्नु पर्छ भन्ने के छ

‘सेल्स पर्सन’ व्यक्तित्व नेपाली कांग्रेसका सबै सांगठनिक संरचना चरम गुटबन्दीको सिकार भएका छन् भने कार्यकर्ता नेताका गलत गतिविधिका कारण ठूलो राजनीतिक ‘डिप्रेसन’मा परेका छन्। सरकारका हरेकजसो गलत क्रियाकलापमा शेरबहादुर देउवाको नाम जोडिएर आउने गरेको छ। यस्तो अवस्थामा नेकालाई एउटा ‘सेल्स पर्सन’ व्यक्तित्व भएको नेतृत्वकर्ता आवश्यक छ। भारतमा भाजपाको जितमा मोदीको, अमेरिकामा ट्रम्पको र बेलायतमा बोरिस जोन्सनको जितमा उनीहरूमा रहेको यस्तै व्यक्तित्व नै मुख्य कारण रहेको विभिन्न अध्ययनले देखाएका छन्। नेपालमा पनि गत चुनावमा केपी शर्मा ओलीको त्यस्तै व्यक्तित्वको प्रभाव देखिएकै हो। यिनीहरू जस्तोसुकै मुद्दा पनि जनतालाई सजिलै बेच्न सक्छन्। राष्ट्रियता, हावादारी विकास र असम्भव सामाजिक सुरक्षाका मुद्दा नेपाली जनतालाई बेचेर नै ओलीले चुनाव जितेका थिए।

अबको नेका नेतृत्वकर्ता त्यस्तै ‘सेल्स पर्सन’ व्यक्तित्व भएको मात्र होइन, सर्वसाधारण जनता र आफ्ना कार्यकर्ताको मन जित्न सक्ने, इमान्दार र निष्ठावान्, आत्मविश्वासले भरिएको, अरूलाई प्रभाव पार्न सक्ने क्षमता र लगनशीलता भएको, वाक–शक्तिमा निपूण, ठीक समयमा ठीक निर्णय लिन सक्ने क्षमता भएको, सबैलाई समेटेर अघि बढ्न सक्ने, युवाको आवाज सम्बोधन गर्न सक्ने, नयाँ कार्यशैली अपनाउने, प्रविधिसँग परिचित, आवश्यक पर्दा लचक र दृढ पनि रहन सक्ने अनि दर्शन र उद्देश्य प्राप्तिका लागि संकल्पित चाहिएको छ। यी सबै गुणले भरिपूर्ण नेता त पाउन असम्भवप्रायः छ, तर अहिलेका केही युवा नेताहरू, जस्तै ः गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, चन्द्र भन्डारी, प्रदीप पौडेललगायतमा यस्ता केही चरित्र पक्कै पाउन सकिन्छ। पार्टीको नेतृत्व यिनै युवामा हस्तान्तरण भएन भने अर्को चुनावमा नेपाली कांग्रेस नयाँ प्रजापरिषद् हुनबाट कसैले रोक्न सक्दैन।

नेकाका मूलमन्त्र– राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई बिपी कोइरालाले नेपाली जनतामाझ राम्रोसँग व्याख्या गर्न सकेको हुनाले नै यो पार्टीको जग बलियो भएको हो। बिपीमा देश निर्माण गर्ने दृढ अठोट मात्र होइन, आफ्ना मुद्दालाई जनतामाझ पु(याएर ढुक्क बनाउन सक्ने ‘सेल्स पर्सन’ व्यक्तित्व थियो। पछि एमालेका मदन भण्डारीमा पनि त्यस्तै गुण देख्न सकिन्थ्यो। आफ्नै एक प्रमुख मन्त्र राष्ट्रियतालाई कांग्रेसले सदुपयोग गर्न सकेन, तर त्यही मुद्दा प्रयोग गरेर नेकपा एमालेका ओलीले बहुमत ल्याइदिए। २०४८ यताका नेका नेतृत्वकर्ताले समाजवाद र लोकतन्त्रलाई घोषणापत्र र विधानमै सीमित राखे, जनतामाझ पु(याउन सकेनन्, तर एउटै वृद्धभत्ताको नाममा नेकपा एमाले प्रशस्त लाभ लिन सफल भयो।

त्यसैले कांग्रेसको अबको नेतृत्वकर्ता जनतामाझ आफ्ना नीति दर मुद्दाको प्रस्टसँग व्याख्या गर्न सक्ने किसिमको हुनुपर्छ। जनताले प्रश्न गर्दा ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने शैली अपनाउने हो भने नेका झन् ओरालो लाग्नेमा शंका छैन। गगन, विश्वप्रकाशलगायत युवा नेता कुनै गुटको फेरो समातेर बस्ने बेला होइन यो। पार्टी जोगाउने हो भने उनीहरू अघि सर्नैपर्छ अब। यी युवा नेतामा नेकाको नीति र मुद्दा व्याख्या गर्ने क्षमता, जनतासँग प्रत्यक्ष संवादमार्फत शालीन रूपमा आफ्ना कुरा राख्ने र प्रश्नको जवाफ दिन सक्ने क्षमता देखिन्छ। तर यिनलाई पुराना नेताले रोकिरहेका छन्। अब त्यो घेरा तोडेर अघि बढ्नैपर्ने बेला आएको छ।

असफल देउवा  पटकपटक प्रधानमन्त्री भएका देउवाले नेपाली कांग्रेसभित्र रहेको कोइरालाविरोधी जनमतको भरपुर प्रयोग गरेर सभापतिमा विजयी भएका हुन्। उनी सभापति भइसकेपछि पार्टी ओरालो लाग्न सुरु भएको हो र फलस्वरूप कांग्रेस समर्थकमा चरम निराशा छाएको छ। प्रजातान्त्रिक दलको भरपर्दो विकल्प नभएकै कारण कांग्रेसले गत निर्वाचनरउपनिर्वाचनमा सम्मानजनक मत पाएको हो। भरपर्दो विकल्प हुन्थ्यो भने अवस्था फरक हुने थियो। भर्खरै गठन गरिएका विभागको नेतृत्वकर्ता हेर्दा के प्रस्ट हुन्छ भने देउवा समग्र पार्टीलाई बलियो बनाउनेतर्फ होइन, आफ्नो गुट बलियो बनाउँदै आगामी महाधिवेशनबाट फेरि नेतृत्व हत्याउने दाउमा छन्।

भ्रातृ संगठन लथालिंग पार्नु, कार्यकर्ताको मनोबल बढाउन नसक्नु, पार्टीभित्रका अन्य नेताको आवाज नसुन्नु, सबैजसो भ्रष्टाचारका काण्डमा उनकै नाम मुछिनु, मिडिया र जनसभामा प्रभावकारी रूपमा प्रस्तुत हुन नसक्नु, चुनाव हार्दा उल्टै मतदाता र आफ्ना नेता÷कार्यकर्तालाई दोष दिनु, स्पष्ट नीतिगत मार्गचित्र कोर्न नसक्नुलगायत क्रियाकलापले देउवाको नेतृत्व असफल भइसकेको पुष्टि गर्छन्।

अहिले सदनमा रहेको देउवा नेतृत्वको प्रमुख प्रतिपक्षको भूमिका उल्लेख गर्न लायकै छैन। सरकार काण्डै काण्डमा मुछिएका बेला नेका सरकारी पक्षझैं देखिन्छ। छिटपुट रूपमा गगन थापाले आवाज उठाए पनि त्यो संगठित बोली बन्न नसक्दा प्रभावकारी हुन सकेको छैन। सभामुखको चुनावमा लोकतन्त्रकै उपहास हुने गरी हत्या आरोपितलाई निर्विरोध चुन्न सहयोग पु(याउने देउवाले प्रधानमन्त्री ओलीको ‘धक्का’ सम्बोधनमा दुनियाँ हसाउने काम गरे। नेपाल ट्रस्टको सम्पत्तिमा भएको लुटको विरोधमा कांग्रेस सदनमा बोल्दैन, मिडिया विधयेकमा चुप नै छ। भागबन्डाको आशामा देउवाले प्रमुख प्रतिपक्षको भूमिका बिर्सिएका छन्।

गत आमचुनावमा भोगेको पराजयको जिम्मेवारी लिँदै नयाँ नेतृत्वकर्तालाई पार्टी सुम्पिनुपर्ने थियो, तर देउवा आफ्नो कार्यकाल लम्ब्याउने र अर्कोपटक पनि नेतृत्व हत्याउने प्रयासमा देखिन्छन्। पार्टीको मूल नेतृत्व देउवा, पौडेललगायत पुराना पुस्तामै गयो भने नेकालाई कसैले जोगाउन सक्ने अवस्था रहने छैन। देशकै पुरानो र लामो इतिहास बोकेको पार्टी बिलिन हुने बाटोमा जानेछ।

अन्त्यमा,
नेका जोगाउने हो भने कार्यकर्ताले सोच्नैपर्ने बेला आएको छ। नत्र देश उग्रवामपन्थीको पञ्जामा पर्ने सम्भावना छ। अबको महाधिवेशनले पार्टीको नेतृत्व सक्षम युवा नेतालाई सुम्पेर नेकालाई नयाँ प्रजापरिषद् बन्नबाट जोगाउनैपर्छ। देशमा लोकतन्त्र बलियो भइसकेपछि जुनसुकै पार्टी जित्नेरहार्ने भए पनि केही फरक पर्दैन। तर हाम्रोजस्तो भर्खरको बालक लोकतन्त्र जोगाउन नेपाली कांग्रेसमा आसलाग्दो र भरपर्दो नेतृत्वकर्ता चयन हुनैपर्छ। समयमै चेत खुलोस् – नागरीक दैनकी वाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया