स्याङ्जाको राम्दीको एकीकृत विकासका लागि काम सुरु

प्रकाशित मिति:

स्याङ्जा । स्याङ्जाको पर्यटकीय तथा धार्मिक स्थल रामनदी धाम (राम्दी) को एकीकृत विकासका लागि काम सुरु भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले पहिलो चरणको कम्पाउण्ड निर्माणका लागि घेराबार निर्माण गरेर काम सुरु गर्नुभएको हो । कालीगण्डकी कोरिडोरको निरिक्षणका लागि आउनुभएका कँडेलले रामनदी धामको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्वता जनाउनुभयो ।उहाँले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्ने विकासका कामहरुको बारेमा संविधानमा नै उल्लेख गरिएको भन्दै आवश्यक समन्वय गर्ने बताउनुभयो । उपाध्यक्ष कँडेलले समपुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुरक बजेटमा यसलाई समेट्न आवश्यक कार्य अगाडि बढाउने पनि बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले कालीगण्डकी डाइभर्सनको काम सहमति विना हुन नसक्ने बताउनुभयो । उपाध्यक्ष कँडेलले कालीगण्डकी डाइभर्सन गरी तिनाउमा लैजानेबारे छलफल भैरहेको जानकारी दिदै आफुले दुबै प्रदेश सँग समन्वय गरेर मात्रै काम अगाडि बढाउन आग्रह गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशमा सहमति भएमा यो काम गर्न सकिन्छ, पानीको बहाब कति छोड्ने, कति प्राकृतिक रुपमा नै बग्न दिने भन्नेबारेमा सहमति हुन जरुरी छ ।’  कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर दिलबहादुर गुरुङले उत्पादनका माध्यमबाट स्थानीय तहबाट सम्बृद्विको थालनी हुनुपर्ने बताउनुभयो ।  उहाँले विश्वमा परिरहेको संकट बाट पार पाउनका लागि आत्मनिर्भर बन्नु पहिलो आवश्यकता रहेको भन्दै स्थानीय तहले कृषि र उत्पादनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरिधारी शर्माले गण्डकी प्रदेशको मुख्य नाकाको रुपमा रहेको राम्दीको विकासका लागि प्रदेशले आवश्यक काम गर्ने बताउनुभयो ।  गण्डकी प्रदेश विकास परिषदका सदस्य डाक्टर बुद्विमान श्रेष्ठले कालीगण्डकी क्षेत्रको विकासका लागि सबै पक्षको ध्यान जान जरुरी रहेको बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले विकासको प्लान आफुहरुसँग भएपनि बजेट अभाव भएका कारण कार्यान्वयन गर्न समस्या भएको बताउनुभयो ।  उहाँले स्थानीय तहलाई अधिकार सम्पन्न भन्ने तर मुख्य बजेट केन्द्रीय सरकारले नै चलाउन खोज्ने भएपछि केही समस्या देखिएको बताउनुभयो ।  नगरप्रमुख अधिकारीले दुध किनेर खानुपर्ने अवस्था रहेको गल्याङ नगरपालिकामा अहिले दैनिक तीन हजार लिटर दुध निर्यात गर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो ।

कालीगण्डकी डाइभर्सनका कुराहरु उठ्ने गरेको भन्दै उहाँले यसबारेमा धेरै टिप्पणी गर्न नचाहेको बताउनुभयो ।  नगरप्रमुख अधिकारीले भन्नुभयो –‘तीन तहको सरकार संविधानले व्यवस्था गरेको छ, मैले भनेको होइन, संविधानले भनेको छ, अनि यहाँको सरकारले थाहै नपाई कसरी कालीगण्डकी तिनाउमा मिसिन्छ ?’
गण्डकी प्रदेशको मुख्य नाकाको रुपमा रहेको रामनदी धाम प्रदेशको मुहार भएको भन्दै उहाँले प्रदेशबाट राम्रो बन्ने सुरुवात गरिएको बताउनुभयो ।
रामनदी धामको सर्वाङिगण विकासका लागि गठन गरिएको निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका अधिकारीले यसको विकासका लागि नगरपालिकाबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।कार्यक्रममा धन्यवाद मन्तव्य दिदै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले राम्दीको विकासका लागि कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । स्वागत मन्तव्य दिनुभएका वडा नम्बर एकका अध्यक्ष गणेश बस्यालले प्रदेशको पहिचानका लागि राम्दीको विकास गर्ने र पर्यटकलाई भुलाउने वातावरण हुनुपर्नेमा जोड दिनुभयो । यसअघि रामनदी धामको विकास गर्ने उद्देश्य सहित एक सय ५ सदस्यीय निर्देशक समिति गठन गरेको थियो । यस्तै, स्थानीय रुपमा बजेटको कार्यान्वयन गरी सम्पूर्ण विकासको काममा संलग्न हुने गरी कौशिक बस्नेतको अध्यक्षतमा १५ सदस्यीय मुल आयोजक समिति पनि गठन गरिएको थियो भने रामनदीधाममा रहेका विभिन्न समितिहरुलाई विघटन गर्ने निर्णय भएको थियो । पहिलो चरणमा रामनदीधामको क्षेत्रलाई तारबार गरिने र त्यसपछि बगैचा सहित अन्य संरचना निर्माणको काम गर्ने तयारी गरिएको छ ।