सियारीमा कोरोना पूर्वतयारीलाई प्रभावकारी बनाइँदै

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सियारी – सियारी गाउँपालिकाले नोबेल कोरोना (COVID–19) पूर्वतयारीलाई तीव्रता दिएको छ । गाउँपालिकामा अहिले विभिन्न सचेतनामूलक कार्यक्रम, ब्यानर टाँस्ने तथा पर्चा पम्पलेट बाँड्ने कार्य भैरहेको गाउँपालिकाले जनाएको छ ।विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिममा नेपाललाई राखेसँगै अहिले विभिन्न सचेतनामूलक कार्य भैरहेको र सियारी गाँउपालिकामा पनि यस खालका सचेतनामूलक कार्यक्रम भैरहेका गाउँपालिका अध्यक्ष अयोध्या थारुले जानकारी दिए । सियारी गाउँपालिकाका विभिन्न सरोकारवालाहरुको बैठक बसी बुधबारै विभिन्न निर्णय गरिएको उनले बताए ।

पूर्वतयारी र त्यसपछिका अवस्थाको व्यवस्थापनका लागि साझा रणनीति तय गर्नेसमेत निर्णय भएको गाउँपालिका अध्यक्ष थारुले बताए ।बैठकले विभिन्न ठाउँमा सूचना प्रवाह गर्ने, ब्यानर, पम्पलेट तथा ब्रोसर वितरण, सचेतनामूलक कार्यक्रम गर्ने, कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै अति अवाश्यक कामबाहेक गाउँपालिका बासिहरुलाई घर बाहिर ननिस्किन अनुरोध गरिएको र कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बुधबारदेखि नै लागुहुने गरि सियारीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने निर्णयसमेत गरिएको गाउँपालिकाकी प्रवक्ता तथा पालिका उपाध्यक्ष अमृता गुरुङले जानकारी दिइन् ।साथै बैठकले पूर्ण सरसफाई तथा स्वास्थ्य पोषण कार्यक्रम सफल बनाउन गाउँवासीलाई अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया