कृषि क्षेत्रमा लगानी गर्न वित्तीय क्षेत्रलाई गल्याङ नगरप्रमुखको आग्रह

प्रकाशित मिति:

गल्याङ । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले कृषि क्षेत्रमा लगानी गर्न गल्याङ नगरपालिका भित्रका वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।
गल्याङ नगरपालिकाले आयोजना गरेको वित्तीय क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले अन्य क्षेत्र भन्दा कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
नगरप्रमुख अधिकारीले विश्व कोरोनाको चपेटामा परेको अवस्थामा स्थानीय तहमा पनि यसको प्रभाव पर्ने भन्दै वित्तीय क्षेत्र विशेष चनाखो हुनुपर्ने बताउनुभयो ।
उहाँले उत्पादनमा जोडिनका लागि कृषकलाई सहयोग गर्न आग्रह गर्दै यसका लागि नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न आफु तयार रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले सामाजिक सुुुुुुुुुुुुुुुरक्षा भत्ता वितरणका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी वित्तीय संस्थाका प्रतिनिधिहरुले नगरपालिकाको विकासका लागि आफुहरुले पूर्ण सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।

प्रबन्धक तथा प्रतिनिधिहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाबाट भैरहेको लगानी बारे जानकारी दिदै थप लगानी गर्न तयार भएको समेत बताएका छन् । यस्तै, सामाजिक सुरक्षा भत्ता वितरणको क्रममा भएका समस्याहरुका बारेमा पनि प्रबन्धकहरुले जानकारी गराएका थिए ।  यस्तै, गल्याङ नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ । खराब कर्जा कम गर्न, काम गर्ने ब्यक्ति वा समूहलाई मात्रै लगानी गर्ने तथा माटो सुहाउँदो खेती वा पशुपालन गरी लगानी गर्नका लागि विज्ञ सहितको साक्षरता कार्यक्रम गर्ने तय भएको हो ।  कार्यक्रममा गल्याङ नगरपालिकाका झण्डै दुई दर्जन बैंक, सहकारी तथा वित्तीय संस्थाका प्रबन्धक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नगरप्रमुख भुपराज अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख दशरथ उपाध्यायले गर्नुभएको थियो ।