६ महिनाको ब्याज छुट गर्न उद्योगी–व्यवसायीको माग

प्रकाशित मिति:

६ चैत, बुटवल । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले नेपालको उद्योग,व्यवसाय र पर्यटन क्षेत्रमा गम्भीर असर पारेको भन्दै उद्योगी–व्यवसायीले ६ महिनाको बैंक ब्याज छुट दिन माग गरेका छन् । उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामा ज्ञापनपत्र बुझाउंदै यस्तो माग गरेको हो । सबैजसो उद्योगी व्यवसायीले बैंकबाट कर्जा लिएर उद्योग–व्यवसायमा लगानी गरेको हुनाले राष्ट्र बैंकले निजी क्षेत्रलाई राहत पुग्ने गरी ब्याज छुटसहित कर चुक्ताको म्याद पनि ६ महिना पछि सार्न माग गरेको संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । स्थानीय उद्योगी व्यवसायीहरु आर्थिक मन्दीको मारमा पर्न थालेको र बैंकको व्याज बुझाउने अवस्था समेत नरहेकाले राहतका कार्यक्रम घोषणा गर्न संगठनले माग गरेको हो । कोरोनाको असरका कारण आर्थिक मन्दीमा परेका विदेशी मुलुकहरुमा उद्योगी व्यवसायीलाई बचाउन केन्द्रीय बैंकहरुले राहतका प्याकेज ल्याइरहेको सन्दर्भमा नेपालमा पनि राष्ट्र बैंकले राहत कार्यक्रम ल्याउनुपर्ने अध्यक्ष भण्डारीको माग छ । संगठनले उद्योगी व्यवसायीहरुले लिएको ऋणको व्याज ज्यादै महंगो भएकोले घटाउन समेत माग गरेको छ । संगठनले ६ महिनाको व्याजदर छुट गर्न बैंकहरुलाई निर्देशन दिनुपर्ने, २०७६ साल चैत्र मसान्त र २०७७ साल असारमसान्तको अग्रिम करको किस्ता र बैंकहरुलाई बुझाउनुपर्ने व्याज २०७७ साल असोज मसान्तसम्म समय थप गर्न पनि माग गरेको छ । समय थप गर्दा जरिवाना नलगाउन पनि संगठनले माग गरेको छ ।

‘कर्मचारी तलब, प्रशासन खर्च, बैंक व्याज र किस्ता तिर्न सक्ने स्थिति छैन’–उनले भने–‘यो समस्या अझै कति जाने हो भन्ने निश्चित नभएकाले राहत घोषणा हुनुपर्छ ।’ ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले उद्योगीव्यवसायीले उठाएका माग राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पठाउने बताए । उनले संगठनले उठाएको विषय व्यक्तिगत नभई साझा सरोकारको विषय भएकोले समस्या समाधानमा केन्द्रीत हुने बताए । संगठनले आर्थिक वर्ष २०७६÷०७७ मा ५० प्रतिशत आयकरमा छुट गरी राहत प्रदान गर्ने सिफारिस अर्थ मन्त्रालयमा पेश गरिदिन आन्तरिक राजस्व कार्यालय भैरहवालाई आग्रह गरेको छ । त्यस्तै, चैत मसान्तसम्म तिर्नुपर्ने आयकरको अग्रिम किस्ता रकम र भ्याट विवरण बुझाउनुपर्ने समय ३ महिना थप गर्न, फूल अडिटमा परेका फर्मलाई १ वर्षको समय थप गरी राहत प्रदान गर्न पनि संगठनले माग गरेको छ । नेपालमा कोरोना भाइरस अहिलेसम्म नदेखिए पनि यसको आतंक रहेको र यसले उद्योग व्यवसायमा प्रभाव पारेकोले आयकरमा ५० प्रतिशसम्म छुट हुनुपर्ने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए । ज्ञापनपत्र बुझ्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत देवी प्रसाद भण्डारीले संगठनले उठाएका माग सम्बन्धित निकायमा पु¥याउने बताए ।