मेलम्चीको पानी वितरणको कार्ययोजना बन्दै

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । पानी काठमाडौं ल्याइसकेपछि कसरी वितरण गर्ने भन्ने सम्बन्धमा सरकारले कार्ययोजनाको तयारी थालेको छ। खानेपानी मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा मेलम्चीको पानी वितरणको कार्ययोजनाका विषयमा छलफल भएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल ले कार्ययोजना बनाएर पानी वितरण गर्ने तयारी गरिरहेको छ।

छलफलमा मन्त्री बिना मगरले पानी वितरण प्रणाली र चुहावटमा बढी ध्यान दिन केयूकेएललाई निर्देशन दिएकी छन्। पाइप फुटेर कहीँकतै चुहावट भएको पाइए तुरुन्त कार्यस्थलमा गएर मर्मत गरिहाल्न मन्त्री मगरले आग्रह गरिन्। मेलम्चीको पानी काठमाडौं आउनुपूर्व अहिले भइरहेको चुहावटमा ध्यान दिन उनले केयूकेएलको ध्यानाकर्षण गराएको मन्त्री मगरको सचिवालयले जनाएको छ।

मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भइसकेपछि अहिले वितरण भइरहेको पुरानै प्रणालीबाट काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वितरण गर्ने र नयाँ वितरण प्रणालीबाट पछि वितरण गर्दै जाने केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले जानकारी दिए।

सुन्दरीजलमा बनेको प्रशोधन केन्द्रमा मेलम्चीको १७ करोड लिटर पानी प्रशोधन भइसकेपछि त्यही पानी शुरुआती चरणमा पुरानै पाइपलाइन प्रणालीबाट वितरण गर्ने योजना रहेको शाक्यले बताए। “उपत्यकाका घरघरमा पुरानै प्रणालीबाट पानी वितरण गर्दै लगिनेछ”, उनले भने, “नयाँ पाइप लाइन प्रणालीलाई पनि हरेक दिन सँगसँगै परीक्षण गरिनेछ । एकै चोटि पानी नयाँ प्रणालीबाट वितरण गर्दा समस्या आउला भनेर यसो गर्न लागिएको हो।”

मेलम्चीको पानी पहिलो चरणमा अनामनगरस्थित नयाँ पाइपलाइन वितरण प्रणालीबाट वितरण गर्ने तयारी रहेको छ। शुरुआतमा पाँच सय १० धारामा पानी वितरण हुनेछ। अहिले काठमाडौं उपत्यकामा दुई लाख २१ हजार ६०० धारा बनिसकेका छन्। पानी वितरण गर्दै जाने र द्रुत तरिकाले चुहावट ९लिकेज० भएका ठाउँमा पनि मर्मत गर्ने योजनानुसार नै शाक्यको संयोजकत्वमा मेलम्चीको पानी वितरण तयारी समिति पनि बनाइएको छ। उक्त समितिले द्रुत गतिमा चुहावट मर्मत गर्न फिल्डमा प्राविधिक टोली खटाउने छ।

मेलम्चीको पानी सङ्कलनका लागि राजधानीमा नौ पानी पोखरी ठूला पानी टङ्याकी निर्माण सम्पन्न भइसकेको छ। ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिनेछ। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले आरुबारी, बाँसबारी, महाँकाल, खुमलटार, बालाजु, भक्तपुरको टिगनी, महाराजगञ्ज, कीर्तिपुर र धोबीघाटमा पोखरी निर्माण गरिसकेको छ। यसैबीच बैठकमा मन्त्री मगरले कोरोनाको सम्भावित सङ्क्रमणबाट सावधानी अपनाउन तथा खानेपानीको महसुल तिर्नुपर्ने समयावधि एक महिना थप गर्न निर्देशन दिइन्। एक महिनापछि पनि जरिवाना तिर्न नपर्ने गरी महसुल तिर्ने समयावधि बढाउन उनले केयूकेएललाई आग्रह गरिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया