नयाँ संक्रमितको संख्या हङकङमा अहिलेसम्मकै धेरै

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – हङकङमा अहिलेसम्मकै धेरै नयाँ संक्रमित भेटिएका छन् । शुक्रबार ४८ जना नयाँ संक्रमित भेटिएका हुन् ।चिकित्सा क्षेत्रका विशेषज्ञहरुले विदेशबाट नयाँ संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिइरहेको अवस्थामा हङकङमा ठूलो संख्यामा नयाँ संक्रमित फेला परेका हुन् । यससँगै हङकङमा समग्र कोरोना भाइरस संक्रमितको संख्या २५६ पुगेको छ ।हङकङमा भेटिएका नयाँ संक्रमितमध्ये धेरै विदेशबाट आएका मानिसमा देखिएको छ ।

स्थानीय मानिसमा देखिएकोमध्ये एक संक्रमण ट्याक्सी चालकमा देखिएको छ, जसले एयरपोर्टबाट मानिस ओसार्ने गरेका थिए । हङकङका अधिकारीहरुले अहिले बढ्दो संक्रमण रोक्नका लागि आपतकालीनबाहेकका उपाय अपनाउनुपर्ने बताएका छन् ।हङकङका अधिकारीहरुले बाहिरबाट आएको संक्रमितको कारण संक्रमितको संख्या अझै बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय हङकङका नागरिकहरु घर फर्किन थालेका छन् । त्यसैले बाहिरबाट हङकङमा भित्रिने खतरा बढेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया