प्रदेश ५ मा यस्तो छ कोरोना लक्षित तयारी – नेपाल प्रवेशमा रोक, ६ वटा आइसोलेसन अस्पताल,रेपिड रेस्पोन्स टिम गठन

प्रकाशित मिति:

बुटवल, ८ चैत । प्रदेश ५ सरकारले कोभिड—१९ (कोरोना) संक्रमण रोक्न सरकारले भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने भारत लगायतका अन्य देशका नागरिकहरुलाई अत्यावश्यक काम बाहेक नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । भारतबाट नेपाल भित्रिने सवारी साधनलाई मेडिकल ट्रिटमेन्ट गरेर मात्र आउन दिने निर्णय समेत सरकारले गरेको छ । कोभिड—१९ संक्रमण भित्रिएको खण्डमा संक्रमितको उपचार र नियन्त्रणका लागि रुपन्देही, दाङ र बांके जिल्लामा गरी ६ वटा आइसोलेसन अस्पताल बनाउने निर्णय पनि सरकारले गरेको छ । कोभिड–१९ नियन्त्रण पुर्व तयारी,प्रतिकार्य र नियन्त्रण सम्बन्धी मुखयमन्त्रीको अध्यक्षतामा बसेको वैठकले ६ वटा आइसोलेसन अस्पतालको व्यवस्थासंगै प्रदेशस्तरको रेपिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको हो । ६ वटा आइसोलेसन अस्पतालमध्ये ३ वटा रुपन्देहीमा मात्रै हुनेछन् । भीम अस्पताल भैरहवा, बुटवलमा रहेको धागो कारखानाको भवन र देवदहको देवदह क्याम्पसमा आइसोलेसन अस्पताल बनाउने निर्णय भएको हो । धागो कारखानाको भवनमा सय वटा आइसोलेसन बेड शनिबार सांझसम्म तयार भइसक्ने छ । यस्तै दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल तथा बांकेको नेपाल प्रहरीको अस्पताल र अर्बुद रोग अस्पताललाई अस्थायीरुपमा आइसोलेन अस्पताल बनाउने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । यी अस्पतालहरुको व्यवस्थापनको जिम्मेवारी सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई दिइएको छ । यस्तै कोभिड–१९ को संक्रमण नियन्त्रण र संक्रमित भेटिएमा उपचार सेवा प्रभावकारी बनाउन सामाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा प्रदेशस्तरीय रेपिड रेस्पोन्स टिम गठन गरिएको छ । उक्त टिममा सामाजिक विकास मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख, लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सदस्य रहेका छन् । यस्तै आवश्यक सामग्रीहरुको बजारमा अभाव श्रृजना नहुने गरी बजार प्रणाली सन्तुलित बनाउन सबै जिल्लामा प्रमुख जिल्ला अधिकारहिरुको संयोजकत्वमा बजार अनुगमन समुह बनाई नियमित अनुगमन गर्ने निर्णय पनि सरकारले गरेको छ । कोभिड–१९ को संक्रमणका कारण कुनै क्षेत्र वा जिल्ला लकडाउन गर्नुपर्ने अवस्था आएमा जिल्लागत योजना प्रमुख जिल्ला अधिकारीले बनाइराख्ने निर्णय पनि सरकारले गरेको छ ।

कोरोना संक्रमणको कारण कुनै जिल्ला नै लकडाउन गर्न आवश्यक हुन सक्ने विषयलाई मध्यनजर गरी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सो को योजना तयार गर्ने निर्णय पनि भएको छ । प्रदेश सरकारले प्रदेशमा रहेका एम्बुलेन्सहरुको जिल्लागत विवरण सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको छ । एम्बुलेन्स चलाउनका लागि थप चालक आवश्यक भए सुरक्षा निकायमा रहेका चालकहरुको विवरण तयार गर्नेदेखि सवारी चालकहरुलाई आवश्यक परामर्श गर्ने सरकारको निर्णय छ । संभावित संक्रमितलाई आइसोलसेन अस्पतालमा रेफर गरी पठाएको र सम्बन्धित अस्पतालले विरामी बुझेको अभिलेख अद्यावधिक गरिराख्ने निर्णय पनि भएको छ । कोरोना भाइरसको सूचना सम्प्रेषण तथा सुरक्षाका लागि छुट्टै सूचना प्रणाली बनाउने निर्णय पनि सरकारले गरेको छ । सूचनालाई एकरुपता दिनका लागि सूचना प्रणालीको बनाउने निर्णय गरेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । कोरोना भाइरस सम्बन्धी सही सूचना संप्रेषण गर्न रेपिड रेस्पोन्स टिमका एक जना सदस्यलाई सूचना संप्रषणको जिम्मेवारी तोक्ने निर्णय समेत भएको छ । सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमणको नियन्त्रणका लागि साझा आचार संहिता निर्माण गरी लागु गर्ने,सबै कार्यालय, आफ्नो गाउँ घर परिसरमा सरसफाई गर्ने, एकापसमा दुरी कायम गर्ने व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आमनागरिकमा सार्वजनिक सूचना प्रसारण गर्ने,कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची सामाजिक विकास मन्त्रालयले तयार गर्ने निर्णय भएको छ ।