कोरोनाविरुद्ध चीनसँग मेडिकल सहयोग माग

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/नेपालले कोरोना भाइरस ९कोभिड–१९० को जोखिमलाई ध्यानमा राखेर चीनसँग मेडिकल सहयोग मागेको छ। चीनको वुहानबाट फैलिएको कोरोना अहिले विश्वका एक सय ६५ मुलुकमा फैलिएको छ। तर चीनमा भने संक्रमण दर घटेको छ। संक्रमण दर घटाउन सफलता प्राप्त गरेको चीनसँग नेपाल सरकारले आवश्यक औषधि तथा उपकरण सहयोगस्वरुप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमार्फत पत्राचार गरेको हो।

चीनसँग सहयोग मागिएका मेडिकल सामग्रीमा करिब १२ किसिमका औषधि तथा उपकरण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्ता सामग्रीमा औषधि, एन– ९५ माक्स, कोरोना टेस्टिङ किट, अक्सिजन प्लान्टलगायत रहेको मन्त्रालय स्रोतले बतायो। पत्रमा चीनलाई नेपालमा पाँचवटा अक्सिजन प्लान्ट स्थापना गरिदिनसमेत आग्रह गरिएको छ। नेपालले मागेको सहयोगप्रति चीनले सकारात्मक प्रतिक्रिया दिएको र छिट्टै त्यस्ता सामग्री उपलब्ध गराउने तयारीमा चिनियाँ पक्ष लागेको स्रोतको दाबी छ।

‘हामीले सहयोग मागेका सामग्रीको विवरणसहित पत्र पठाएपछि उताबाट सकारात्मक प्रतिक्रिया आइसकेको छ,’ स्रोतले भन्यो। चिनियाँ सरकारबाहेक केही चिनियाँ निजी कम्पनीले पनि नेपाललाई आवश्यक सहयोगको प्रस्ताव गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाललाई भने चिनियाँ सरकारबाट मात्र सहयोग लिने निर्णय भएको मन्त्रालय स्रोतले बतायो। यो खबर आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया