विधानको परिपालना गर्न सुनसरी कांग्रेसको निर्देशन

प्रकाशित मिति:

धरान, ९ चैत्रः नेपाली कांग्रेस सुनसरीले मातहतका समितिहरुलाई विधानको परिपालना गर्न निर्देशन दिएको छ । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी र नेपाली कांग्रेस पार्टी वीच एकता भएपछि केन्द्रीय तहमा समायोजन भई जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, नगर कार्यसमिति, गाउं कार्यसमिति र वडा कार्यसमितिहरुको केन्द्रीय परिपत्र र निर्देशिका बमोजिम समायोजन भईरहेको अवस्थामा कतिपय मातहतका कार्यसमितिहरु विस्तार गरिएको भन्दै १४औं महाधिवेशन नहुंदासम्म त्यस्तो कार्य नगरी विधानको अक्षरस पालना गर्न निर्देशन बमोजिम पार्टीका मातहतका तहहरुलाई निर्देशन जारी गरिएको जिल्ला प्रवक्ता एवम् सचिव सुजेन्द्र गोलेले बताए । उनले पार्टीको सबै तहको अधिवेशनको मिति तोकी अधिवेशनको प्रकृयामा पार्टी अगाडि बढीरहेकाले यस्तो समयमा विधान विपरित समिति गठन, विघटन र विस्तार गर्न उचित नहुने भएकाले त्यस्तो निर्देशन जारी गरिएको बताए । नेपाल मात्र नभएर विश्व नै कोरोना भाइरसका कारण प्रभावित भईरहेकाले स्थानीय स्वास्थ्य संस्था, स्वस्थ्यकर्मी, सामाजिक संघसंस्थाहरुसंग आवश्यक समन्वय र सहकार्य गरी कोरोनावाट बच्न अभियान सञ्चालन गर्न तथा प्रभाकारी रुपमा परिचालित हुन पनि जिल्ला अन्तर्गतका पार्टी र भातृ संघसंस्थाहरुलाई विशेष आग्रह गरिएको प्रवक्ता गोलेले बताए ।