किन घट्दैछ मध्यपूर्वमा अमेरिकी प्रभाव ?

प्रकाशित मिति:

रामराज शर्मा

इस्लामिक स्टेट जसलाई आइसिस वा आइसिल भनेर पनि चिनिन्छ को मुख्य जरो इराकको अल कायदा नै हो। सुषुप्त अवस्थामा रहेको अल–कायदाको इराक संगठन पुनस् २०११ मा संगठित हुँदै इराक र सिरियाको आधिकांश भूभागमा कब्जा मात्र जमाउन सफल भएन, केही अफ्रिकी देशहरु लिबिया, इजिप्ट, सोमलिया र यता जोर्डनसम्म बलियो संगठन निर्माण गर्न समेत सफल भयो।

तर अहिले उक्त समूह लगभग पराजित अवस्थामा पुगिसकेको छ र इराक तथा सिरियाका केही गाउँमा सीमित भएको छ। आइसिसको उदय हुनुमा इराक र सिरिया भित्रका सत्तासिनहरुको लापर्बाहीभन्दा पनि शक्तिसम्पन्न राष्ट्रहरुको भित्री इच्छा थियो भन्ने कुरा लुकेको छैन।

त्यो क्षेत्रमा रहेको अभूतपूर्ण पेट्रोलियम पदार्थको भन्डार, ती देशहरुसँग हतियार खरिद गर्नसक्ने बलियो आर्थिक स्थिति र मध्यपूर्वमा रहेको धार्मिक विभक्तिकरण मुख्यगरी मुस्लिम समुदाय भित्रका सुन्नी र सियाबीचको विभाजन नै मुख्यकारण रहेको देखिन्छ। आइसिसको उदय र पतनसँगै त्यो क्षेत्रमा लामो समयदेखि रहेको एकपक्षीय शक्ति अमेरिकाको पकड पनि खस्किँदै गइरहेको छ।

सिरियामा बहुराष्ट्रिय शक्तिकेन्द्रका खेलहरु भइरहेका छन्। सुरुवाती अवस्थामा आइसिसप्रति मौन रहेको टर्कीले आइसिस र विद्रोही सिरियन आर्मीको प्रयोग गरेर सिरियाका राष्ट्रपति आसादलाई पदच्यूत गर्न चाह्यो। त्यो क्षेत्रमा उदाउँदो शक्ति टर्की नाटोको सदस्य राष्ट्र भएर पनि अमेरिका, बेलायतलगायतको आइसिसबिरुद्धको गठबन्धनमा सुरुमा समाहित भएन। टर्कीका आफ्नै स्वार्थ र समस्या छन् जो अमेरिका र बेलायत अझै जर्मनको नितिसँग कत्ति मेल खाँदैनन्।

टर्कीको सिमानानजिक रहेका कोबानेको भिषण युद्ध होस् वा अल बाबको युद्ध टर्कीको अमेरिकाभन्दा भिन्न स्वार्थ थियो। टर्कीका सिमानामा रहेका कुर्दिस समूहहरुलाई अमेरिकाले निकै सहयोग गर्‍यो भने टर्कीले आइसिस र कुर्दिस एकआपसमा भिडेर सकिउन् भन्दै रमिते बनेर बसिरह्यो, आइसिसविरुद्ध कुनै कदम चालेन। कुर्दिस लाडाकु र आइसिसबीचमा भएको कोबानेको त्यो दर्दनाक युद्धमा सारा संसारले कुर्दिसहरुलाई साथ दिइरहेको बेलामा इराकी कुर्दिस लडाकुहरुलाई कोबाने प्रवेश गर्ने मार्ग दिन पनि निकै ढिलो गर्‍यो टर्कीले।

टर्कीले इराक र सिरियामा रहेका कुर्दहरुले आफ्नो देशमा सशस्त्र संघर्ष गरिरहेका पिपेके ९कुर्द० हरुलाई समर्थन र सहयोग गरेको आरोप लगाएको छ। पिकेकेलाई टर्कीले अतंककारी घोषणा गरेको छ र देशको लागि खतराजन्य समूहमा राखेको छ। सिरिया र इराकको अधिकांश तेल भन्डार र प्रशोधन केन्द्र आइसिसको कब्जामा रहँदा गोप्य रुपमा सस्तो मूल्यमा टर्कीले उनीहरुसँग तेल खरिद गर्ने गरेको र अन्य देशहरुबाट आउने आइसिस लडाकाहरुलाई आफ्नो भूमिमार्फत सहजै सिरिया र इराक छिर्न दिएको तथ्य पनि छिपेको छैन।

मध्यपूर्व खासगरी अमेरिकाको बलियो पकड रहेको क्षेत्र हो। इरानले अमेरिकाविरुद्ध सधैं अडान लिंदै आइरहेको हुनाले अमेरिकी प्रभावमा केही छिद्रहरु त पारेको थियो तर ती छिद्रहरु रसियालाई त्यो क्षेत्रमा छिर्नको लागि पर्याप्त थियनन्। साउदी अरब त्यो क्षेत्रमा अमेरिकाको सबैभन्दा भरपर्दो र बलियो सहयोगी अनि हतियार खरिदकर्ता पनि हो। साउदी अरबको सुरक्षा संयन्त्र पूरै अमेरिकी उपकरण, तालिम र सर्भिस सपोर्टमा आधारित छ। सिया बाहुल्य इरान साउदी अरबको क्षेत्रीय प्रतिद्वन्द्वी हो जसलाई रसियाले साथ दिइरहेको छ।

सन् २०१७ मा मात्रै ट्रम्प प्रशासन र साउदीबीचमा ११० बिलियन डलर बराबरको हतियार खरिद बिक्री सम्झौता भएको थियो। विशेषगरी उदाउँदो शक्ति अनि रसियाको सहयोग प्राप्त इरानसँगको शक्ति सन्तुलन राख्नको लागि उक्त हतियार डिल भएको थियो।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनाव भइरहँदा सिरिया र इराकमा आइसिसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनले भिषण युद्ध गरिरहेको थियो। बाहिरबाट हेर्दा अमेरिकाले अरबौ डलर उक्त युद्धमा खर्च गरिरहेझैं देखिन्थ्यो। त्यसैले राष्ट्रपतिका उम्मेदवार ट्रम्पले चुनावी सभाहरुमा आफूले चुनाव जितेपछि सिरिया र इराकबाट अमेरिका पछि हटने भाषण गरिरहे। तर भित्री अवस्था फरक थियो। उक्त युद्धमा अमेरिकाले प्रत्यक्ष रुपमा जति खर्च गरिरहेको थियो त्यसको कैयौ गुणा धेरै युद्धमा संलग्न पक्षहरुलाई हतियार बेचेर आम्दानी गरिरहेको थियो।

अमेरिका चाहन्थ्यो मध्यपूर्वका अन्य देशहरु पनि सो युद्धमा सामेल हुन् भन्ने। जोर्डन र इजिप्ट अमेरिकाकै स्वार्थअनुरुप सो युद्धमा सामेल भए यी देशहरु पनि अमेरिकाको हतियार खरिद गर्ने ठूला खरिदकर्ता हुन्। राष्ट्रपति निर्वाचित भइसकेपछि ट्रम्पको उक्त बोली एक सय असी डिग्रीमा घुम्यो। हतियार बिक्री र सजिलै पेट्रोलियम पदार्थ आपूर्तिको लागि पुरानै नीति निरन्तर रहिरह्यो।

सिरियाका राष्ट्रपति आसादलाई पदच्यूत गर्नको लागि विद्रोह गरिरहेका फ्री सिरियन आर्मीको ठूलो समूहलाई अमेरिकाले आइसिसविरुद्ध लड्न भन्दै हतियार, तालिम र बन्दोबस्तीका समानहरु उपलब्ध गराइरहेको थियो र छ। यसैगरी टर्कीले पनि केही समूहलाई त्यस्तै किसिमको सहयोग गरिरहेको छ अर्थात् अमेरिका र टर्कीले छुट्टाछुट्टै समूहलाई सहयोग गरेका छन्। आफ्नो छुट्टै राज्यको माग गरिरहेका सिरिया, इराक र टर्कीमा छरिएर रहेका कुर्दहरुको लडाका समूहलाई अमेरिकी गठबन्धनले सहयोग गरेको छ जसलाई टर्कीले विरोध गरेको छ।

यस्तो अवस्थामा रसियालाई उक्त क्षेत्रमा प्रत्यक्ष संग्लन हुन सिरियाले ठूलो भूमिका खेल्यो। पुटिनसँग निकट सम्बन्ध भएका आसादले रसियन सेनालाई सिरियाको भुमिमा भित्र्याउँदै मध्यपूर्वीय सागरमा समेत प्रवेश गराएर मध्यपूर्वको शक्ति सन्तुलनमा अर्को बलियो पक्षलाई घुसाइदिए। रसियाको चाहना पनि अमेरिका वा बेलायतको भन्दा फरक भने छैन। उसलाई आफ्ना हातियारको बजार चाहिएको छ र अमेरिकालाई चुनौती दिन परिरहेको छ।

अमेरिकाको मध्यपूर्व क्षेत्रमा रहेको पकड विस्तारै कमजोर हुँदै गइरहेको देखिन्छ। टर्की उक्त क्षेत्रमा नयाँ शक्तिकेन्द्रको रुपमा उदाएको छ भने अर्कोतर्फ इरान। अनि अहिले सिरियामार्फत रसियाको पकड त्यो क्षेत्रमा बढ्दै गइरहेको छ। अमेरिकी समर्थन र सहयोगप्राप्त साउदी अरब र रसियाको ब्याकअप रहेको इरानले यमनमा आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्। युद्धको चपेटामा परेको यमन आफ्नै गृहयुद्धभन्दा पनि बाहिरी शक्तिको युद्धस्थल जस्तो बनेको छ।

सन् १९९० मा एकीकरण भएका उत्तरी र दक्षिणी यमन अहिले फेरि पुरानै पक्षहरुबीच नराम्रो युद्धमा फसेको छ। उत्तरी र पश्चिमी यमनमा रहेका बहुसंख्यक हाउथीहरुलाई इरानले सहयोग गरिरहेको छ भने दक्षिण र पूर्वी यमनमा रहेका सुन्नी र अन्य समूहहरुलाई सहयोग गर्दै साउदी अरबको नेतृत्वमा रहेका सुन्नीबाहुल्य देशहरुले हवाई आक्रमण जारी राखेका छन्। बाहिर धार्मिक आवरण र विभाजन देखिए तापनि भित्र साउदी अरबमार्फत अमेरिका र इरानमार्फत रसियाको शक्ति प्रदर्शनस्थल बनेको छ यमन।

यमनको पूर्वी भूभागमा रहेको मरुभूमि क्षेत्रमा अल–कायदाको ठूलो उपस्थिति छ र अमेरिकाले सोही कारण देखाउँदै बारम्बार हावाई आक्रमण पनि गरिरहेको छ। यमनको युद्धमार्फत रसिया र अमेरिकाले आफ्नो पकड त्यो क्षेत्रमा मजबुत बनाउने उद्देश्य राखेका छन्।

अहिले सिरियाको आधिकांश भूभाग सरकारी सेनाको रसियन नियन्त्रणमा छ इड्लिब प्रदेश अमेरिकाको समर्थनप्राप्त विद्रोही समूह, टर्कीको सिमानामा रहेको केही भाग टर्की समर्थनप्राप्त विद्रोही र कुर्दिस क्षेत्र कुर्दिस विद्रोहीको नियन्त्रणमा। अमेरिकी समर्थनप्राप्त विद्रोहीको क्षेत्रमा सिरियन र रसियन आर्मीले लगातार भिषण आक्रमण गरिरहेका छन्।

सिरियामा युद्धबिराम गर्न टर्की, इरान र रसियाले त्रिपक्षीय छलफल गर्दा अमेरिका उक्त छलफलमा अटाउन सकेन अर्थात् अब सिरिया युद्धमा अमेरिकाको प्रभाव विस्तारै कमजोर भइसकेको छ। सिरिया टर्की र इरानले अमेरिका होइन रसियालाई त्यो क्षेत्रको मुख्य शक्ति मनिसकेको अवस्था छ अहिले।

भर्खरै सम्पन्न इराकी आमचुनावमा अमेरिकी सेनाको इराकमा उपस्थितिको खरो विरोध गर्ने मुक्तदा अल सद्रको समूह सबैभन्दा ठूलो पार्टीको रुपमा उदायपछि इराकी जनताको अमेरिकालाई हेर्ने दृष्टिकोण अहिलेको सरकारभन्दा भिन्न रहेको प्रस्ट देखिन्छ। इराकमा राष्ट्रपति र प्रधानमन्त्री छान्ने प्रक्रिया अब छिट्टै सुरु हुँदैछ।

अबको राष्ट्रपति र प्रधानमन्त्री को बन्नेछन् त्यसले इराकमा अमेरिकाको उपस्थितिलाई पक्कै केही असर पार्नेनै छ। अमेरिकाको सबैभन्दा नजिकको मित्र इजरायलप्रति अमेरिकी सहयोगी अन्य सुन्नीबाहुल्य राष्ट्रहरुले इजरायलविरुद्ध बोले पनि हतियार युद्धमा जानसक्ने अवस्था भने छैन र त्यो चाहन्नन् पनि।

सिरिया आफैं युद्धले थिलोथिलो परेको छ भने इरानले मात्र केही गर्नसक्ने अवस्था छैन। इरानको न्युक्लियर क्षमता कटौती गर्नेगरी २०१५ मा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीन र रसियाले संयुक्त रुपमा गरेको सम्झौता ट्रम्प प्रशासनले खारेज गर्दै इरानमाथि फेरि कडा नाकाबन्दी लगाउने घोषणालाई अरु राष्ट्रहरुले साथ दिएनन्। अरु ५ देश उक्त सम्झौतामा अझै अडिग छन्। मध्यपूर्वको एक बलियो शक्तिलाई फ्रान्स, जर्मनी र बेलायतले अमेरिकाभन्दा फरक दृष्टिकोणबाट हेर्दै भिन्न मत राख्नु पनि अमेरिकाको लागि धक्का पुग्नु हो।

ट्रम्प प्रशासनले मध्यपूर्वमा रहेको आफ्नो पकड फुत्किँन नदिन प्रयास नगरेको होइन। साउदी अरबको नेतृत्वमा बहराइन, युएई र इजिप्टले कतारमाथि लागाएको नाकाबन्दी पनि अमेरिकाको लागि प्रतिकुल बन्न पुग्यो। सुरुमा नाकाबन्दीको पक्षमा बोलेका ट्रम्प तुरुन्तै बोली फेर्न बाध्य भए।

सुन्नीबाहुल्य राष्ट्र भएर पनि इरानसँग समुधुर सम्बन्ध राखेको र आतंकवादलाई प्रश्रय दिएको भन्दै उनीहरुले कतारमाथि नाकाबन्दी लगाए र अहिले पनि जारी छ। त्यसै नाकाबन्दीका कारण कतार इरानको झनै नजिक बन्न पुग्दा अमेरिकाले त्यो क्षेत्रमा एउटा भरपर्दो सहयोगी राष्ट्र गुमाउने सम्भावना देखिन्छ।

अर्कोतिर चीनको आक्रमण व्यापार नीति, पुटिन प्रशासनको आक्रामक हतियार व्यापार नीति, मध्यपूर्वमा रहेको तेल भण्डारमा अन्य शक्ति राष्ट्रहरुको बढ्दो प्रभाव र चाहना अनि फ्रान्स र बेलायत जस्ता अमेरिकाका परम्परागत मित्र राष्ट्रको बढ्दो हतियार बिक्रीमोह जस्ता अनेक पक्षहरुको समिश्रण हुनपुग्दा अमेरिकी पकड मध्यपूर्वमा अहिले निकै कमजोर अवस्थामा पुगेको छ।

मध्यपूर्वमा अमेरिकी पकड कमजोर हुँदैजाँदा रसियाको प्रवेश अनि टर्की र इरान उदाउँदा क्षेत्रीय शक्तिको रुपमा अगाडि बढिरहेका छन्। अब मध्यपूर्वको शक्तिमा अमेरिकाको मात्र पकड रहेन।