वालिङमा हेल्थ डेस्क स्थापना, करीब पाँच सय जान क्षमताको क्वारेन्टाईन  निर्माणमा तीब्रता

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रणका लागि वालिङ नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको छ ।अन्यत्रबाट आएका विदेशी वा नेपालीहरुको स्वास्थ्य परीक्षण गरी कोरोना भए नभएको पहिचान गर्नका लागि हेल्थ डेस्कको स्थापना गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।वालिङ नगरपालिकामा बाहिरबाट आउनुहुने ब्यक्तिहरु वा कोरोनाको शंकास्पद ब्यक्तिहरुको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गर्छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “विश्वब्यापीरुपमा फैलिएको कोरोनाबाट सावधानी अपनाउनका लागि हामीले हेल्थ डेस्क, क्वारेन्टाईन र आईसोलेसन कक्षको स्थापना गरेका हौं ।”

वालिङस्थित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा करीब पाँच सय जना अटाउन सक्ने क्षमताको क्वारेन्टाईन निर्माण भईरहेको छ भने विभिन्न सामुदायद्वारा निर्मित सामुदायिक भवनहरुमा करीब एकसय जना अटाउन सक्ने क्षमताको आईसोलेसन कक्षको ब्यवस्था मिलाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका ब्यक्तिहरुको तथ्यांक संकलन गर्न लगाएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “विदेशबाट फर्किएका ब्यक्तिहरुलाई होम क्वारेन्टाईनमा बस्न सुझाव दिएका छौं भने निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौं ।”

वालिङ नगरपालिकाका १४ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा वडा सदस्य, सम्बन्धित वडाको स्वास्थ्य चौकीको प्रमुख, महिला स्वयंसेविकाहरु सदस्य रहने गरी कोरोना भाईरस ब्यवस्थापन, रोकथाम तथा सचेतना समिति गठन गरी सचेतनाका कार्यक्रम सञ्चालन गर्नका लागि सबै वडामा पत्राचार गरिएको छ ।नगरका कुनै पनि स्थानमा सभा सम्मेलन नगर्न नगराउन, ब्यूटिपार्लर तथा सैलुन बन्द गर्न लगाउने, सरकारी कार्यालय तथा गैर सरकारी कार्यालयहरुमा हुने अति आवश्यक कामकाज बाहेक अन्य कामकाजहरु तत्कालका लागि स्थगित गर्ने र बृद्ध बृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकहरुमा नपठाउनका लागि वडा÷वडामा पत्राचार गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आज छलफल गरी बैंकमा भीडभाड नगर्न र बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन लाईनमा वा भीडमा बस्दा समस्या हुन सक्ने भएकाले खातामै राखिदिन र सहज भएसँगै पुनः वितरण गर्ने ब्यवस्था मिलाउने निर्णय भएको छ ।नेपालमा यसको संक्रमण नदेखिएपनि उच्च सतर्कता अपनाउन भने जरुरी रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।नगरपालिकाले नगरबासीमा सचेतना जगाउनका लागि माईकिङ गर्नेृ, विभिन्न पम्प्लेट वितरण गर्ने, ब्रोसरहरु निर्माण गरी वितरण गर्ने कार्य गरेको छ भने यसअघि पनि वालिङस्थित सरकारी तथा निजी औषधी पसलहरुको अनुगमन गरिएको उप प्रमुख तिवारीले बताउनुभयो ।

विदेशबाट फर्किएका वा अन्यत्रबाट आउनुभएका ब्यक्तिहरुलाई क्वारेन्टाईनमा राखिने छ भने शंकास्पद ब्यक्तिलाई आईसोलेसनमा राख्ने ब्यवस्था मिलाईएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।वालिङ मोडमा स्थापना गरिएको हेल्थ डेस्कमा खास गरी शंकास्पद ब्यक्तिहरु र विदेशबाट आएका यात्रुहरुको परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।हेल्थ डेस्कमा स्वास्थ्यकर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी नियमितरुपमा खटिने स्वास्थ्य प्रमुख पाण्डेले बताउनुभयो । कोरोनाको महामारी न्यूनिकरण भई सामान्य अवस्थामा नआउँदाको अवस्थासम्म नियमित डेस्क सञ्चालनमा रहने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।वालिङ नगरपालिका कार्यालय परिसर तथा वडा कार्यालयहरुमा पनि साबुनपानीले हात धुने ब्यवस्था मिलाईएको शाखा प्रमुख पाण्डेले बताउनुभयो । वालिङ नगरपालिकाले वर्तमान स्थितिलाई ध्यान दिंदै खाद्यान्न किराना पसल, औषधी, तरकारी, पेट्रोलपम्प र होटेलबाहेकका अन्य सबै पसलहरु बन्द गरी सहयोग गर्न पनि नगरबासीलाई अनुरोध गरेको छ ।