इटालीपछि स्पेनमा कोरोनाभाइरसको प्रभाव

प्रकाशित मिति:

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो अवस्थामा छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ ।

युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा धेरै गम्भीर अवस्था सिर्जना भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इटालीमा पछिल्लो २४ घण्टामा ६ सय १ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ७७ रहेको छ भने संक्रमितको संख्या ६३ हजार ९ सय २७ पुगेको छ । जसमा एकै दिन ४ हजार ७ सय ८९ नयाँ संक्रमित देखिएका हुन् ।

त्यसैगरी स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार तीन सय ११ पुगेको छ । जहाँ एकै दिनमा ५ सय ३९ जनाले ज्यान गुमाएका छन् । स्पेनमा आइतबार एकैदिन तीन सय ९४ जनाको भाइरसको सङ्क्रमणबाट ज्यान गएको थिए ।

स्पेनमा सङ्क्रमितमध्ये तीन हजार तीन सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने दुई हजार तीन सय ५५ जनाको अवस्था गम्भीर छ । स्पेनको राजधानी मड्रिड कोरोना भाइरस महामारीको केन्द्र बनेको छ । स्पेनमा कोरोना भाइरसको पहिलो सङ्क्रमण गएको जनवरी ३१ तरिखमा देखिएको थियो ।