कोरोनाभाइरसको प्रभाव इटालीपछि स्पेनमा, एकै दिन ५३९ को मृत्यु

प्रकाशित मिति:

काठमाडौं/ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ ।युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा धेरै गम्भीर अवस्था सिर्जना भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इटालीमा पछिल्लो २४ घण्टामा ६ सय १ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ७७ रहेको छ भने संक्रमितको संख्या ६३ हजार ९ सय २७ पुगेको छ । जसमा एकै दिन ४ हजार ७ सय ८९ नयाँ संक्रमित देखिएका हुन् ।त्यसैगरी स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार तीन सय ११ पुगेको छ । जहाँ एकै दिनमा ५ सय ३९ जनाले ज्यान गुमाएका छन् ।स्पेनमा आइतबार एकैदिन तीन सय ९४ जनाको भाइरसको सङ्क्रमणबाट ज्यान गएको थिए ।

स्पेनमा सङ्क्रमितमध्ये तीन हजार तीन सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने दुई हजार तीन सय ५५ जनाको अवस्था गम्भीर छ ।स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गएको शनिबार यो महामारीसँग लड्न सरकार जे आवश्यक पर्छ त्यो गर्ने बताएका छन् । उनले नागरिकहरुलाई सचेत गराउँदै भनेका थिए, ‘अझै खराब समय आउन बाँकी छ ।’स्पेनमा कोरोना भाइरससँग लड्नका लागि आपत्काल घोषणा गरिएको छ । गएको १५ मार्चमा लगाइएको आपत्काल अझै बढाउने योजना छ ।स्पेनको राजधानी मड्रिड कोरोना भाइरस महामारीको केन्द्र बनेको छ । स्पेनमा कोरोना भाइरसको पहिलो सङ्क्रमण गएको जनवरी ३१ तरिखमा देखिएको थियो ।