विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाईनमा बस्दै

११ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
80 Shares


तोलाकान्त बगाले वालिङ, ११ चैत । वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका २१ जनालाई होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर÷घरमा पुगेर २१ जनालाई होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका ब्यक्तिहरुको तथ्यांक संकलन गरिरहेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “विदेशबाट फर्किएका ब्यक्तिहरुलाई होम क्वारेन्टाईनमा बस्न सुझाव सहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौं । विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलबासीहरुलाई आग्रह गर्नुभएको छ ।स्थानीय टोलबासीहरुले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर÷घरमा पुगेर विदेशबाट आउनुभएका दाजुभाई तथा दिदीबहिनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टाईनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।विदेशबाट फर्किनुभएकाहरुलाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं” उपप्रमुख तिवारीले भन्नुभयो, “उहाँहरुको इच्छा अनुसार होम क्वारेन्टाईनमा बस्न छाडेका छौं बसे नबसेको नियमित अनुगमन गरिराखेका छौं ।”

भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले आग्रह गर्नुभएको छ ।कोभिड १९ फैलिन नदिनका लागि प्रशासन संवेदनशील भएर लागेको छ यस्तो अवस्थामा सबैले लागू भएको नियमलाई कडाईका साथ कार्यान्वयन गरी सहयोग गर्न अपील गर्दछु” ईलाका प्रशासन कार्यालय प्रमुख शर्माले भन्नुभयो ।लकडाउनको निर्णय कार्यान्वयन नगरी अवज्ञा गर्नेलाई प्रशासनले कानून बमोजिम कारबाही गर्ने ईलाका प्रशासन प्रमुख शर्माले बताउनुभयो ।हाम्रो आफ्नै लागि लकडाउनको निर्णय भएका कारणले पनि नगरबासीहरुले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिंदै निर्णय पालना गर्नु नै हितकर हुने नगर प्रवक्ता केदार काफ्लेले बताउनुभएको छ । होम क्वारेन्टाईनमा बस्नेहरुले घरमा छुट्टै बस्दा परिवार तथा अन्य समुदायसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहनुपर्ने प्रवक्ता काफ्लेले बताउनुभयो ।

सोमबार र मंगलबार गरी नगरभित्रका १,२,८,९,११,१२ र १३ नं. वडाका टोलका घर÷घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकहरुलाई आँफू सुरक्षित हुँदै घरपरिवारलाई पनि सुरक्षित राख्ने उद्देश्यले होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । होम क्वारेन्टाईनमा बसेकाहरुलाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्श समेत दिईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया