चौधरी फाउन्डेसनले देशभरका अस्पताललाई पिपिई उपलब्ध गराउने

प्रकाशित मिति:

काठमाडौं– चौधरी फाउन्डेसनले स्वास्थ्यकर्मीको सुरक्षा उपकरण उपलब्ध गराउने भएको छ। फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले ट्वीटर मार्फत सुरक्षा उपकरण उपलब्ध गराएको बताएका हुन्। हाम्रो अहिलेको मुख्य चुनौती र आवश्यकता अस्पताल र क्वारेन्टाइनरआइसोलेसन सेन्टरको जोखिम मूल्यांकन गरी अत्यावश्यक सामग्री उपलब्ध गराउनु हो। सबैभन्दा पहिले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गरी सुरक्षा उपकरण उपलब्ध गराउनु आवश्यक थियो। चौधरी फाउन्डेसनले यसमा केही सफलता हासिल गरेको छ,’ उनले भनेका छन्। यस्तै फाउन्डेसनले देशभरका स्वास्थ्यकर्मीलाई पिपीई उपलब्ध गराउने बताएका छन्। ‘आजको आवश्यकता पैसा होइन, यी उपकरणको सहज आपूर्ति हो । उपचारको अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो। यसतर्फ हामी अत्यन्तै सजग र संवेदनशील छौं । त्यसैले, आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं,’ उनले भनेका छन्।

यस्तै भेन्टिलेटरको समेत मुलुकभर अभाव रहेको भन्दै आयात गर्नुको विकल्प नरहेको बताएका छन्। उनले त्यसका लागि स्वास्थ्य मन्त्रालयसँग हातेमालो गरेर अघि बढ्ने जनाएका छन्। ‘हाम्रो अर्को चुनौती अक्सिजन जेनेरेटिङ अपरेटर्स र भेन्टिलेटरको हो। मुलुकभर यी उपकरण अभाव छ, आयात गर्नुको विकल्प छैन। सँगै ती उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति अभाव पनि उत्तिकै छ। त्यसैले दक्ष जनशक्तिको अभिमुखीकरणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौं,’ उनले भनेका छन् ।