प्रकोप व्यवस्थापन कोष मजबुद बनाउँदै तिलोत्तमा , नगर प्रमुखले दिए ५० हजार

प्रकाशित मिति:

तिलोत्तमा, चैत १३ । तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगर प्रमुख बासुदेव घिमिरेले ५० हजार रुपैंयाँ दिनु भएको छ । यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले कोषमा १० हजार रुपैंयाँको योगदान गर्नु भएको छ । नगरपालिकाले यसअघि नैं स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई थप मजबुद बनाउँदै लैजाने निर्णयसँगै उहाँहरुले कोषमा व्यक्तिगत योगदान गर्नु भएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको सन्दर्भमा नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनुभयो । प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै ८० लाख रुपैंयाँ रहेकोमा कोरोना महामारीको सन्दर्भमा जुटाइने सहयोगले कोषलाई कम्तिमा एक करोड रुपैंयाँ पुर्याउने लक्ष्य राखिएको छ ।

नगरपालिकाले कोषमा सहयोग गर्न गरेको आह्वानसँगै विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत रकम प्रदान गर्न थालेका छन् । तिलोत्तमा—१, स्थित होराइजन जिबिएस स्कुलले एक लाख एक हजार रुपैंयाँ कोषमा दिने निर्णय गरेको प्राचार्य गोपाल आचार्यले जानकारी दिनुभयो ।

यस्तै तिलोत्तमा—८, प्रदीपनगर निवासी वरिष्ठ समाजसेवी चिन्तामणि चालिसेले कोषमा पाँच हजार पाँच सय रुपैंयाँ दिने घोषणा गर्नुभएको छ । नगरपालिकाले एनआइसी एशिया बैंकमा प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि कोषलाई बजमुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको उहाँले प्रष्टानुभयो ।

यतिबेला कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १९ जना बसेका छन् । त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन दिने घोषणा गरेको छ ।