दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई लायन्स बुटवल युथद्वारा खाद्यान्न वितरण

प्रकाशित मिति:

बुटवल, १४ चैत । लायन्स क्लव अफ बुटवल युथले बुटवलमा दैनिक ज्याला मजदुरी गरि खाने गरिव तथा बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकालागि सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरि खाने वर्गका परिवारलाई साँझ बिहानको छाक टार्न समस्या नहोस भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको क्लव अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराउनु भयो ।

बुटवल उपमहानगरपालिका वडा नं. ५ शिवालय मन्दिरमा त्यसै आसपासका सुकुम्बासी क्षेत्रमा बसोबास गर्ने ५० परिवारलाई चामल, दाल र नुन वितरण गरिएको कार्यक्रम संयोजक मनमोहनलाल गुभाजुले जानकारी गराउनु भयो । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणकालागि लकडाउन भएकाले औपचारिक कार्यक्रम भने गरिएको थिएन । त्यस्तै खाद्यान्न वितरण गर्ने कार्यक्रममा सामाजिक दुरी पनि कायम गरेर वितरण गरिएको क्लवका सचिव बिष्णु काफ्लेले जानकारी दिनुभयो ।

विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरसको नेपालमा महामारी हुन नदिनका लागि सरकारले गरेका काममा सहयोग गर्नु सबै नागरिकको दायित्व भएको र यस्तो विषम परिस्थितीमा कसैले पनि खान नपाएर मर्नु नपरोस भन्ने उद्देश्यले प्रशासनसंग अनुमति लिएर खाद्यान्न वितरण गरिएको बताउँदै क्लवका अध्यक्ष श्रेष्ठले घरमा खाना सकिए तत्कालै जानकारी गराउन समेत आग्रह गर्नुभयो ।

बुटवल क्षेत्रमा कृयाशिल लायन्स क्लवहरुको सहकार्यमा गरिव तथा विपन्न परिवारलाई खाद्यान्न वितरणकालागि तयारी भएको जानकारी गराउँदै सम्भावित कोरोना भाईरसको संक्रमण हुन नदिने गरि सामाजिक दुरी कायम गरेर वितरणको व्यबस्था मिलाईने बताउनु भयो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले सञ्चालन गरेका काममा क्लवले सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै सरकारलाई आवश्यक परेमा स्वयम् सेवकको भूमिका निर्वाह गर्न क्लव तयार रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।