धुर्कोट गाउँपालिकाले विपद व्यवस्थापनमा पचाँस लाखको कोष स्थापना गर्दै

प्रकाशित मिति:

सम्झना पोख्रेल/ गुल्मी – चिनको वुहान बाट फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को महामारी देशैभरि फैलिएपछि देशमा लकडाउन गरिएको छ । यस्तो माहामारी सबै तिर फैलिने जोखिम बढेकोले सम्पुर्ण स्थानिय तहदेखि जिल्ला, प्रदेश, सरकारले सम्म लकडाउन गरेका छन् । त्यस्तै गुल्मी लगायत अन्य जिल्लाहरुमा कफ्र्यु जारी गरिएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै गुल्मी जिल्लाको धुर्काेट गाउँपालिकाले पनि यस बाट बच्न विभिन्न सर्तकताका उपायहरु अपनाएको छ ।

शुक्रबार धुर्कोट गाउँपालिकामा गाउँपालिका स्तरिय विपद व्यवस्थापन समितिको बैठक बसेको थियो ।  उक्त बैठकले कोरोना भाइरसको रोकथाम तथा सजगता अपनाउनका लागी भइरहेको तयारीको समिक्षा र थप तयारी गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मि, सुरक्षा निकाय सम्बद्ध व्यक्तिहरुसँग छलफल गरी गाउँपालिकाका स्वास्थ्य सँस्थामा आवश्यक साम्रगी उपलब्ध गराउने, स्वास्थ्यकर्मिहरुको सुरक्षा,आवश्यक स्थानमा क्वारेन्टाइन निर्माण, विपन्न परिवारको पहिचान र सहयोग बाहिरी देशबाट आउनु भएका व्यक्तिहरुको पहिचान र निगरानि गर्ने र विपद व्यवस्थापन कोषमा ५० लाख जम्मा गर्ने निर्णय गरेको छ । वडाका प्रत्येक वडाहरुमा रहेका माद्यमिक विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ भने धुर्कोट गाउँपालिकाको केन्द्र वर्वोटमा हेल्प डेस्क स्थापना गरी गन थर्मोमिटरले जोरो जाँच गर्ने गरिएको छ ।

त्यस्तै धुर्कोट गाउँपालिकाको एक मात्र क्याम्पस परमानन्द भण्डारी बहुमुखी क्याम्पसलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । जहाँ अहिले रोजगारीको लागी भारत गई हालै मात्र आउनुभएका वडा न. ५ वस्तुका ४ र वडा नं. ७ वाग्लाका १ जना गरी ५ जनालाई राखिएको छ । धुर्कोट गाउँपालिका ५ वस्तुको हिमालय मा.वि मा ओ.पि.डि स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।