कोरोना कोषमा जनउत्थान सहकारीको दुईलाख

प्रकाशित मिति:

सबलपोष्ट , १५ चैत, बुटवल । कोभिड–१९ को रोेकथाम तथा उपचारका लागि रुपन्देहीको जनउत्थान वचत तथा ऋण सहकारी संस्थाले दुई लाख रुपैयां दिने निर्णय गरेको छ । रुपन्दहीका तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउपालिका र सियारी गाउपालिकाले स्थापना गरेका कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थानले ५० हजार रुपैयांका दरले रकम दिने निर्णय गरेको हो । सहकारीका १९ हजार ५ सय शेयर सदस्यबाट प्रति सदस्य १० रुपैयाका दरले एक लाख ९५ हजार र सहकारीको सामाजिक कोषबाट ५ हजार गरी दुई लाख रुपैया दिने निर्णय भएको अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । सहकारीले देशमा आइपर्ने राष्ट्रिय विपद्मा सबै शेयर सदस्यले १० रुपैयांका दरले योगदान गर्ने निर्णय हरेक वर्ष साधारणसभाबाट गर्दै आएको अध्यक्ष पौड्यालले बताइन् । रुपन्देहीका १७ स्थानीय तहमध्ये १२ तह कार्यक्षेत्र रहेको जनउत्थान प्रदेश ५ मा सबैभन्दा धेरै सदस्य भएको सहकारी हो । सहकारीले सामाजिक क्षेत्रमा खर्च गर्न यो वर्ष ८ लाख ३० हजार रुपैयां विनियोजन गरेको छ । २०७२ को भूकम्पमा पनि सहकारीले प्रति शेयर सदस्य १० रुपैयांका दरले एक लाख ५१ हजार रुपैयां प्रधानमन्त्री राहत कोषलाई दिएको सहकारीका व्यवस्थापक रनबहादुर थापाले बताए । देशभरका सबै सहकारीका शेयर सदस्यले १० रुपैयांका दरले योगदान गर्ने हो भने प्रकोप र विपत्तिका बेला करोडौं रकम सजिलै संकलन हुने जनउत्थानकी अध्यक्ष पौड्यालले औंल्याइन् । ‘एकजना सदस्यका लागि १० रुपैयां ठूलो कुरा होइन तर देशभरिका ३५ हजार सहकारीका ६५ लाख सदस्यले योगदान गर्दा ६५ करोड जम्मा हुन्छ’–अध्यक्ष पौड्यालले सुझाइन्–‘अरु सहकारीले पनि यो विधि अपनाउंदा विपत्तिका बेला राष्ट्रलाई ठूलो राहत हुन्छ ।’