कोरोना कोषमा सामूहिक विकास सहकारीको तीन लाख

प्रकाशित मिति:

सबलपोष्ट । १५ चैत, बुटवल । कोभिड–१९ को रोेकथाम तथा उपचारका लागि रुपन्देहीको तिलोत्तमा शंकरनगरस्थित सामूहिक विकास वचत तथा ऋण सहकारी संस्थाले तीन लाख रुपैयां दिने निर्णय गरेको छ । सहकारीले प्रदेश ५ सरकार र तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोषमा क्रमशः दुई लाख र एक लाख रुपैयां दिने निर्णय गरेको हो । सहकारीले सामाजिक सेवा कोषमा जम्मा भएको रकमबाट कोरोना रोकथाम तथा उपचार कोषका लागि रकम प्रदान गरेको संस्थाका अध्यक्ष सुरेन्द्रकुमार वर्माले जानकारी दिए । सात हजार पांच सय जना सदस्य रहेको सहकारीले सामाजिक सेवा कोषमा हरेक वर्ष १३ लाख रुपैयां भन्दा बढी जम्मा गर्ने गरेको र यो वर्षका लागि पांच लाख रुपैयां छुट्टाइएको संस्थाका वरिष्ठ व्यवस्थापक इश्वरी मरासिनीले जानकारी दिए । १९ करोड चुक्ता पुंजी र १३ करोड जगेडा कोष रहेको सामूहिक विकास प्रदेश ५ मा सबैभन्दा धेरै आर्थिक कारोबार गर्ने सहकारी हो । यसअघि रुपन्देहीको तिलोत्तमास्थित जनउत्थान वचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यले प्रति सदस्य १० रुपैयांका दरले चार वटा स्थानीय तहका कोरोना रोकथाम तथा उपचार कोषमा ५० हजार रुपैयांका दरले दुई लाख रुपैयां रकम दिने निर्णय गरेको थियो ।