गल्याङ नगरपालिकामा कोरोना नियन्त्रण नभएसम्म मदिरा सेवन र विक्री वितरण निषेध

प्रकाशित मिति:

    कोरोना रोकथाम नियन्त्रण र राहतका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन

केपी खनाल   – गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना नियन्त्रण नभएसम्म मदिरा सेवन र विक्री वितरण पूर्ण निषेध गरिएको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि वडा तहमा गठन गरिएका समन्वय समितिका अध्यक्षहरु सहितको बैठकले नगरपालिका भित्र मदिरा विक्री वितरण र सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
बैठकले सबै वडाहरुमा मदिरा विक्री वितरण भएको बारे सुक्ष्म अध्ययन गरी नियन्त्रण गर्नलाई आवश्यक काम गर्ने निर्णय गरेको छ ।
लकडाउनको खाली समयमा मदिरा सेवन बढि भएको र यसले समाजलाई नकारात्मक असर परेको निश्कर्ष निकाल्दै बैठकले २४ सै घण्टा नियन्त्रणका लागि पहल गर्ने निर्णय गरेको हो ।
बैठकमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कडाइका साथ यसको अनुगमन गरी कारवाही गर्न गल्याङ प्रहरी चौकीका इन्चार्जलाई निर्देशन दिनुभएको छ ।
यस्तै बैठकले कोरोना रोकथाम नियन्त्रण र राहतका लागि पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय पनि गरेको छ ।
क्वारेन्टाइनको व्यवस्थापन, अन्य खर्च व्यवस्थापन तथा लकडाउनका कारण समस्यामा परेका अति विपन्न तथा मजदुरलाई राहत वितरण गर्ने उद्देश्य सहित ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी बैठकले अबका दिनमा भारत सहित विदेशबाट आउने नागरिकहरुलाई अनिवार्य रुपमा बाहिरी क्वारेन्टाइना राख्ने निर्णय पनि गरेको छ ।
यसअघि गल्याङ नगरपालिकामा बाहिरबाट आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएकोमा अब देखि बाहिरी क्वारेन्टाइनमा नगरपालिकाकै व्यवस्थापनमा राख्ने निर्णय भएको हो । वडा अध्यक्षहरुले होम क्वारेन्टाइनमा बस्नेहरुको प्रभावकारी अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, बैठकले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवार तथा मजदुरहरुको पहिचान गरी पहिलो चरणमा एक महिनाका लागि खाद्यान्न उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
तीन दिन भित्र सम्बन्धित वडाका वडाअध्यक्षहरुले विपन्नको पहिचान गरि प्रतिबेदन बुझाए अनुसार नगरपालिकाले उनीहरुलाई राहत वितरण गर्ने भएको हो ।
यसैगरी लकडाउनको समयमा बजारमा कालोबजारी गर्नेहरुको अनुमति रद्व गर्ने निर्णय समेत बैठकले गरेको छ ।
गल्याङ बजारको अनुगमन गरी बजार नियमन गर्न अनुगमन समिति गठन पनि भएको छ । समितिमा गल्याङ नगरपालिका वडा नम्बर एकका अध्यक्ष गणेश बस्याल, वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराई, गल्याङ नगरपालिका प्रशासन शाखा प्रमुख दशरथ उपाध्याय, गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगाप्रसाद श्रेष्ठ, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल, गल्याङ नगरपालिका प्रेस संयोजक केपी खनाल र गल्याङ प्रहरी चौकी इन्चार्ज रहनुभएको छ ।
बैठकले अहिलेको मुल्य सुचि पेश गर्ने जिम्मा गल्याङ चेम्बर अफ कमर्स र उद्योग वाणिज्य संघलाई दिएको छ । गल्याङ नगरपालिकाका ग्रामिण क्षेत्रहरुमा खाद्य सामाग्री ढुवानीका लागि आवश्यक समन्वय गरी कमी हुन नदिन प्रभावकारी कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा गल्याङ चेम्बर अफ कमर्स तथा गल्याङ उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले एक महिनाका लागि गल्याङमा पर्याप्त मौज्दात रहेको र सवारी पास उपलब्ध भएमा थप ल्याउन सकिने बताउनुभएको थियो ।
यस्तै, बैठकले घरबहालमा बस्नेहरुको दुई महिनाको घरबहाल छुट दिन घरधनीहरुलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

गल्याङ नगरपालिकामा कोरोना नियन्त्रण नभएसम्म मदिरा सेवन र विक्री वितरण निषेध ।
कोरोना रोकथाम नियन्त्रण र राहतका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन
होम क्वारेन्टाइनमा बस्नेहरुको प्रभावकारी अनुगमन गर्ने
आजको मिति पछि भारत सहित विदेशबाट आउने सबै नागरिकहरुलाई अनिवार्य रुपमा बाहिरी क्वारेन्टानमा राख्ने
तीन दिनभित्र लकडाउनका कारण समस्यामा परेका विपन्न परिवार तथा मजदुरहरुको पहिचान गरी पहिलो चरणमा एक महिनाका लागि खाद्यान्न उपलब्ध गराउने
लकडाउनको समयमा बजारमा कालोबजारी गर्नेहरुको अनुमति रद्व गर्ने
सात सदश्यीय बजार अनुगमन समिति गठन
दुई महिनाको घरबहाल छुट दिन घरधनीहरुलाई अनुरोध गर्ने