स्थानीय स्तरमै उत्पादन भएको पिपिई प्रयोग गर्दै वालिङ

प्रकाशित मिति:

तोलाकान्त बगाले वालिङ, १६ चैत । स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय स्तरमै ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उत्पादन गरी प्रयोग थालेको छ ।विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुलाई वालिङमै उत्पादन गरेर प्रयोग गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

प्राथमिकताका आधारमा हालसम्म एकसय थान पिपिई उत्पादन गरी प्रयोग गरिरहेका छौ” नगर प्रमुख खाँणले भन्नुभयो, “अरु उत्पादन गरिरहेका छौं, उत्पादन भएको पिपिई छिटोभन्दा छिटो प्राथमिकताका आधारमा वितरण गरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकहरुका लागि केही हदसम्म सुरक्षित बनाउने पहल भएको छ । पिपिईको अभावमा शंकास्पद बिरामीहरुको परीक्षण गर्नका लागि जोखिम हुनसक्ने भएकाले स्थानीय वालिङ बजारमै उत्पादन भएको पिपिईको प्रयोग गरेको नगर प्रमुख खाँणले बताउनुभयो । विदेशबाट नगरभित्र आएका विभिन्न ब्यक्तिहरुको विवरण संकलन गर्नकालागि घर–घरमा पुग्नुपर्ने र नगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा परीक्षणका लागि बिरामीहरु आउने तर पिपिईको अभावमा समस्या हुन सक्ने भएकाले यसको महत्व झनै बढेर गएको नगर प्रमुख खाँणले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि संक्रमणबाट बच्नका लागि ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) तयार पारिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । पर्याप्तमात्रामा ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध नभएका कारण स्वास्थ्यकर्मीहरुलाई बिरामीको परीक्षण गर्न जोखिम रहेको थियो” शाखा प्रमुख पाण्डेले भन्नुभयो, “संक्रमणबाट केही हदसम्म भएपनि जोगाउनका लागि वालिङ नगरपालिकाले आफ्नै पहलमा उच्चस्तरीय कपडाको प्रयोग गरी स्थानीयस्तरमै ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) तयार गरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकहरुलाई वितरण गरिएको छ ।