कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग

प्रकाशित मिति:

मुम्बई/ भारतमा जारी लकडाउनका कारण बलिउडकर्मी यतिबेला फुर्सतमा छन् । कलाकारले घरमा सेल्फ क्वारेन्टाइनमा बसेर सरकारलाई सहयोग गरिरहेका छन् । भारतका कोरोना भाइरसको लडाइँका लागि भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केयर फण्ड गठन गरेसँगै बलिउड अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ भारू दिने घोषणा गरे । मोदीले ट्वीटमार्फत धेरैको चासो भएकाले फण्ड खोलिएको बताएका थिए ।

उक्त फण्डमा बलिउडकर्मीले कोरोना भाइरसको लडाइँका लागि भन्दै सहयोग रकम घोषणा गरेका छन् । अक्षय कुमारले ट्वीट गर्दै भने – मैले मेरो बचतबाट २५ करोड सहयोग गर्छु । अक्षय कुमारको यो कार्यलाई भारतीयले खुलेर तारिफ गरेका छन् । योसँगै अभिनेता वरुण धावनले पनि ३० लाख सहयोग गर्ने घोषणा गरेका छन् । वरूणले ट्वीटमार्फत लेखेका छन् – देश छ त हामी छौँ ।भुषण कुमारले पनि उक्त कोषमा ११ करोड भारु दिने घोषणा गरेका छन् । यस्तै दक्षिण भारतीय अभिनेता प्रभासले ४ करोड भारु, महेस बाबुले १ करोड र चिरञ्जीवीले १ करोड दिने दिने घोषणा पहिले नै गरेका थिए । यस्तै हेमा मालिनीले १ करोड सहयोग गरेकी छिन् । उनी भारतीय जनता पार्टीका तर्फबाट सांसद पनि हुन् ।

सनी देओलले ५० लाख सहयोग गर्ने दिने घोषणा गरेका छन् भने रजनीकान्तले ५० लाख, पवन कल्याणले १ करोड, राम चरणले ७० लाख दिने बताएका छन् । यस्तै कमेडियन कपिल शर्माले ५० लाख सहयोगको घोषणा गरेका छन् ।