एनआरएनए पोर्चुगलले गर्यो आपतकालीन राहत वितरण

प्रकाशित मिति:

पुनम गौतम / लिस्वन –गैह्र आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले आपतकालीन राहत वितरण कार्य शुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण समस्यामा परेका नेपालीलाई लक्षित गर्दैै संघले दैनिक प्रयोग हुने खाद्यान्न सामाग्री वितरण गरेको हो । संघले आइतबार र सोमबार गरेर लिस्वनमा ६२ जना नेपालीलाई राहत वितरण सहयोग गरेको टास्क फोर्स समितिका संयोजक विक्रमजंग कुंवरले जानकारी दिनुभयो ।

उहांका अनुसार भर्खरमात्रै पोर्चुगल आएका र बेरोजगार नेपालीलाई राहत वितरण गरिएको हो । विपतका बेला संघले सानो सहयोग मात्रै गरेको उहांको भनाई छ । रोजगारी नभएका अति समस्याग्रस्त नेपालीका लागि एनआरएनएले सकेको सहयोग लिएर आएको जनाएको छ । संघले राहत स्वरुप जनही चार केजी चामल, एक लिटर तेल, एक केजी दाल, नुन र पास्ता लगायतका अति आवश्यकीय खाद्यान्न वितरण गरेको संघका महिला उपाध्यक्ष सिता श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै एनआरएनएले “आपतकालीन सहयोग वितरण कार्यक्रम जारी रहने जानकारी दिदैं उहांले आवश्यकता भएका नेपाली दाजुभाई तथा दिदीबहीनीहरुले एन।आर।एन।ए। पोर्चुगलको कोभिड–१९ टास्क फोर्सका सदस्यहरुलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दै आगामी सहयोग वितरणको मिति अर्को सूचनामा प्रकाशित गरिने ।” भनेर सुचना जारी गर्दै थप विकराल अवस्था सिर्जना भएमा पुनः लिस्वनमा राहत सहयोग गर्ने जनाएको छ । साथैं संघले पोतुगलको लिस्वन बाहिरका अलेन्तेजु, अल्गाभ, जम्बोजिरा, काबलेइरियो, माल्भादो, सान्तोतोनियो, मिल्फन्तोष, अल्मोग्राव, साओःमिगेल ठाउंहरुमा अप्रिल १ तारिख देखि सहयोग राहत वितरण गर्ने संघले जनाएको छ । राहत वितरणका लागि लिस्वन सहित बाहिरका एन।आर।एन।ए। समितिहरुका पदाधिकारीहरुलाई सम्पर्क गरी राहत लिन सकिने संघले जनाएको छ ।