सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने : वालिङ नगरपालिका

प्रकाशित मिति:

तोलाकान्त बगाले । वालिङ, १८ चैत । कुनै पनि संघ संस्था तथा ब्यक्तिले सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण नगर्न वालिङ नगरपालिकाले आग्रह गरेको छ ।  चैत १६ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको आपूर्ति ब्यवस्थापनलाई सहज बनाउने बैठकले गरेको निर्णयलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने गृह मन्त्रालयको परिपत्र अनुसार कुनैपनि निकाय÷संघ÷संंस्था÷ब्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने निर्णय भएकाले सोही अनुसार गर्नुहुन वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले अनुरोध गर्नुभएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार कसैले पनि सहायताको नाममा चन्दा उठाउन वा आँफूखुसी सहायता वितरण गर्न पाउने छैनन्” नगर प्रमुख खाँणले भन्नुभयो, “एकद्वार प्रणालीबाट सहायता गर्दा राम्रो हुने र समान पहुँच पुग्ने भएकाले वितरणमा दोहोरोपनाको समस्या हुन पाउँदैन ।” गृहमन्त्रालयको परिपत्र अनुसार स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।

होम क्वारेन्टाईनमा बस्नेलाई परामर्श दिंदै वालिङ नगरपालिका  वालिङ नगरपालिकाले होम क्वारेन्टाईनमा बस्नेहरुको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिनुकासाथै आवश्यक परामर्श दिने गरेको छ । स्वास्थ्यकर्मीहरुले विदेशबाट फर्किएकाहरु प्रत्येकको घर÷घरमा पुगेर होम क्वारेन्टाईनमा बसाल्नुकासाथै आवश्यक परामर्श दिने गरेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । नगरभित्रका १४ वटै वडामा होम क्वारेन्टाईनमा बसेका एकसय १६ जनाको घर÷घरमै पुगेर विवरण अध्यावधिक गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “पहिलो चरणमा सबैको घर÷घरमै पुगेर विवरण संकलनसहित आवश्यक परामर्श दिएका थियौं भने दोस्रो चरणमा घर÷घरमै पुगेर वा फोन सम्पर्कमार्फत दैनिक स्वास्थ्य अवस्था बुझ्नुकासाथै आवश्यक परामर्शसमेत दिने गरेका छौं ।” विश्वब्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरणका लागि विशेषगरी विदेशबाट फर्र्किएकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दैनिक भेटघाट तथा फोन सम्पर्कमार्फत अवस्था बुझ्ने र आवश्यक परामर्श दिने ब्यवस्था मिलाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।

“१४ वटै वडाभित्र रहेका विभिन्न टोल विकास संस्थामार्फत टोलमा विदेशबाट आउने ब्यक्तिको सूचना प्राप्त हुने ब्यवस्था मिलायौं” नगर प्रमुख खाँणले भन्नुभयो, “टोल विकास संस्थाका प्रतिनिधिले वडा वा नगरपालिका कार्यालयमा दिनुभएको सूचनाका आधारमा उहाँहरुको घर÷घरमा पुगेर स्वयं ब्यक्ति र घर परिवारलाई सँगै राखेर सुझाव तथा परामर्श दिएका हौं जसले गर्दा यो प्रभावकारी बन्न पुग्यो ।”विदेशबाट फर्किएका सबैको घर÷घरमा पुगेर उहाँहरुको सबै विवरण खुल्ने गरी तथ्यांक संकलन गरिएको छ भने होम क्वारेन्टाईनमा बस्दा पालना गर्नुपर्ने शर्तहरुलाई कडाईका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिईएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

“विदेशबाट फर्किएको दुई हप्ता पूरा नभएसम्म घर परिवारसँग नबसी छुट्टै बस्न र अन्यत्र हिडडुल नगर्न सुझाव दिएका छौं” स्वास्थ्य प्रमुख पाण्डेले भन्नुभयो, “होम क्वारेन्टाईनमा बसेकाहरुको दैनिक तापक्रम मापन गरी तथ्यांक राख्न र असजिलो महशुष भएमा तुरुन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेका छौं ।”वालिङमा होम क्वारेन्टाईनमा बसेकाहरु सबै एकसय १६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।होम क्वारेन्टाईनमा बस्नेहरुलाई अनिवार्यरुपमा शर्तहरु पालना गर्न, स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा स्वास्थ्य संस्थामा जान वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न, रोग सर्ने तरिका, बच्ने उपाय तथा यसका लक्षणहरुकाबारेमा आँफू पनि सचेत रहन र घर परिवारलाई पनि सचेत बनाउनका लागि सुझाव दिने गरिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।लकडाउनको सातौं दिन सोमबारसम्म वालिङ नगरपालिकामा एकसय ९ पुरुष र ७ महिला गरी कूल एकसय १६ जना होम क्वारेन्टाईनमा बसेकामा २१ जनाको दुई हप्ता पूरा भएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।

वालिङ नगरपालिकामा विदेशबाट आउनेहरुमा सबैभन्दा धेरै भारतबाट ८० जना, दुबईबाट २६, दक्षिण कोरियाबाट २ जना छन् । बंगलादेश, हङकङ, मलेसिया, ओमन, पोर्चुगल, कतार, स्लोभानिया र युकेबाट एक÷एक जना गरी कूल एकसय १६ जना रहेका प्रमुख पाण्डेले बताउनुभयो ।सोमबार साँझसम्म वालिङ नगरपालिकाकाको १ नं. वडामा ९, २ मा ८, ३ मा ५, ४ मा ४, ५ मा ९, ६ मा १०, ७ मा ७, ८ मा ११, ९ मा १०, १० मा ५, ११ मा १०, १२ मा १८, १३ मा ६ र १४ मा ४ जना गरी कूल एकसय १६ जना विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाईनमा बसेका स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।वालिङ नगरपालिकाले नगरभित्र रहेका सामुदायिक तथा संस्थागत १२ वटा विद्यालयमा झण्डै सात सय ७० जना क्षमताको क्वारेन्टाईनका लागि पूर्वाधार निर्माण गरेको छ । नगरभित्रका तीन वटा सामुदायिक भवनहरुको प्रयोग गरी ९० जना क्षमताको आईसोलेसन वार्ड निर्माण गरेको छ ।नगरपालिकाले स्थानीय स्तरमै ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उत्पादन गरी प्रयोग थालेको छ । कोभिड १९ का शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुलाई वालिङमै पिपिई उत्पादन गरेर प्रयोग गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।“प्राथमिकताका आधारमा हालसम्म एकसय थान पिपिई उत्पादन गरी प्रयोग गरिरहेका छौ” नगर प्रमुख खाँणले भन्नुभयो, “अरु उत्पादन गरिरहेका छौं, उत्पादन भएको पिपिई छिटोभन्दा छिटो प्राथमिकताका आधारमा वितरण गरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकहरुका लागि सुरक्षित बनाउने पहल भएको छ ।”

पिपिईको अभावमा शंकास्पद बिरामीहरुको परीक्षण गर्नका लागि जोखिम हुनसक्ने भएकाले स्थानीय वालिङ बजारमै उत्पादन भएको पिपिईको प्रयोग गरेको नगर प्रमुख खाँणले बताउनुभयो ।नगरपालिकाभित्र विभिन्न संस्थाले सञ्चालन गरेका पाँच एम्बुलेन्सलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ । नगरभित्रका बढी भीडभाड हुने स्थान तथा किराना, औषधी पसलहरुमा ‘डिस ईन्फेक्सन’ छर्किएको नगरपालिकाले जनाएको छ । वालिङ बजारमा खाद्यान्न तथा पशुपंक्षीका लागि दानापानीको अभाव सिर्जना हुन नदिने नगर प्रमुख खाँणले बताउनुभयो । नगरबासीलाई सुसूचित गराउनका लागि दैनिक चार वटा गाडीको प्रयोग गरी सबै वडा÷वडामा माईकिङ गरिंदै आएको छ  लकडाउनको समयमा खाद्यान्न, दाना तथा तरकारीहरुको अभाव हुन दिने छैनौं” नगर प्रमुख खाँणले भन्नुभयो, “खाद्यान्न तथा दानाहरु अन्यत्रैबाट ल्याउने छौं भने तरकारीहरु बाहिरको निर्यातलाई रोकी वालिङभित्रैको उत्पादनलाई प्राथमिकता दिने गरी ब्यवस्थापन मिलाएका छां ।” नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नका लागि वडा÷वडामा तथ्यांक संकलन गरिहेको छ ।विशेष गरी विदेशबाट फर्किएको १४ दिन पूरा नभएकाहरुलाई अनिवार्यरुपमा क्वारेन्टाईनमा बस्न सुझाव दिईएको छ । होम क्वारेन्टाईनमा बसे नबसेको टोलका ब्यक्तिहरु तथा फोन सम्पर्कबाट जानकारी लिईरहेको छ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न पनि वालिङ नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ ।