कोरोना संक्रमणको उपचारमा आशाका किरण देखिए : डा. रवीन्द्र पाण्डेय

प्रकाशित मिति:

काठमाडौं । अहिलेसम्मको तथ्यांकअनुसार विश्वमा ७ लाख ४८ हजार ४४० जना व्यक्तिलाई कोरोना संक्रमण भएको छ । जसमध्ये ३७ हजार ७ सय ८१ जनाको मृत्यु भइसकेको छ । १ लाख ६५ हजार ३ सय ८७ जना पूर्ण निको भएर घर फर्किएका छन् । बाँकी ५ लाख ५१ हजार ७ सय ८० जनामा कोभिड १९ पोजिटिभ देखिए पनि सामान्य लक्षण मात्र देखिएको छ । २९ हजार ४ सय ९२ जना अर्थात् ५ प्रतिशत मात्र गम्भीर अवस्थामा छन् । यो तथ्यांक केलाउँदा हामीहरु त्यति धेरै चिन्तित हुनु आवश्यक छैन ।

चीन सरकारले बुहानमा कोरोना संक्रमित बिरामीलाई अलग्गै अस्पतालमा राखेर Favilavir, Remdesivir लगायतका दर्जनौं एन्टी भाइरल औषधि, बाथमा प्रयोग हुने Hydrochloroquine र एन्टिबायोटिक azithromycin को कम्बिनेसन व्यापक रूपमा प्रयोग गरेको थियो । यसबाट अपेक्षित परिणाम नमिले पनि केहि व्यक्तिमा उपयोगी पाइएको थियो । ती मध्ये Lopinavir, Retenovir तथा Oseltamivir + Chloroquine धेरै प्रभावकारी देखिएका छन् । युरोपियन देशहरूले अहिले धमाधम Hydrochloroquine र azithromycin प्रयोग गरिरहेका छन् । यी औषधि भारतले पनि प्रयोग गरिरहेको छ । त्यस्तै अमेरिकाले Hydrochloroquine , azithromycin र Zinc को प्रयोग गरिरहेको छ ।  त्यस्तै मलेरियामा पहिले प्रयोग गरिने Chloroquine पनि ती राष्ट्रहरूमा व्यापक रूपमा प्रयोग भइरहेको छ । कतिपय राष्ट्रले नाम्ले जुका तथा फित्ते जुकामा प्रयोग गरिने Niclosemide पनि प्रयोग गरिरहेका छन् ।  WHO, CDC तथा FDA ले यी औषधिको प्रयोगमा लगाएको प्रतिबन्ध नखोले पनि आपतकालीन अवस्थामा धेरै राष्ट्रहरूले आफैं यी औषधि प्रयोग गरिरहेका छन् । केही गरि Hydrochloroquine तथा Chloroquine को धेरै साइड इफेक्ट भए पनि हानिभन्दा फाइदा बढी भएको चिकित्साको सिफारिसमा प्रयोग गर्न सकिने भन्ने औषधि विज्ञानको लुप होलको आधारमा यी औषधिहरू प्रयोग गरिएको छ ।

मलेरिया तथा बाथमा प्रयोग गर्ने औषधि एन्टी भाइरल मेडिसिन होइनन् । तर ती औषधिको छ दिन प्रयोग गर्दा हाम्रो शरीरको कोषमा कोरोना भाइरसको वृद्धि रोकिने भन्ने प्रयोगकर्ताहरूको दावी छ । यी औषधिको आँखा, मुटुलगायत अंगमा नकारात्मक असर भएकोले आफैं किनेर खानु घातक हुन्छ । भर्ना भएका कोभिड १९ का बिरामीलाई चिकित्सकको निगरानीमा चलाउनु पर्छ । नेपाल सरकारले पनि यी औषधिको न्युनतम मात्रा बनाउन लगाएर तयारी अवस्थामा बस्नुपर्दछ ।त्यस्तै जेष्ठ नागरिक, दीर्घ औषधिसेवी तथा अन्य जोखिम बर्गलाई इम्युनिटी पावर बढाउनको लागि Vitamin C, E, B6, B12, Zinc को प्रयोग गरेर संक्रमणको गम्भीरता न्यून गर्ने विश्वव्यापी अभ्यास रहेको छ । यो बाहेक देशअनुसार उपलब्ध रातो च्याउ, जिन्सेन, जिंको बाइलोबा, गुडुची, अमला, यार्सागुम्बा, लसुन, च्याउ, ब्लु बेरी, अदुवा, बेसार, ब्रोकाउली, ग्रिन टि लगायतलाई प्रयोग गरिएको छ ।

औषधि तथा खोप बारे जे जस्ता हल्ला आए पनि ल्याब, गिनिपिग / मुसा, खरायो / बाँदर हुँदै मान्छेमा परीक्षण गरेर मात्र बजारमा आउने प्रक्रिया पूरा हुन घटीमा १ वर्षदेखि २ वर्षसम्म लाग्छ । त्यो बेलासम्म कोरोनाको प्रकोप पनि हटेर जानेछ । भाइरल रोगको एउटा राम्रो पक्ष के हुन्छ भने लामो समय भाइरस वातावरणमा रह्यो भने हाम्रो शरीरले उक्त भाइरस विरूद्ध लड्ने प्रणाली आफैं विकास गर्दछ । कोरोना संक्रमण तीव्र रूपमा फैलिने भएकोले घरमै सुरक्षित तरिकाले बस्नुको विकल्प छैन ।

(चिकित्सक पाण्डे जनस्वास्थ्य विज्ञ हुन्)   बाह्रखरी वाट साभार