प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप

प्रकाशित मिति:

बुटवल – प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अलीमाथि काठमाडौं प्रेस अनलाइन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप लागेको छ। काठमाडौं प्रेसले स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलमार्फत चीनबाट मेडिकल सामग्री खरिद विषयमा अलीसमेतको संलग्नता रहेको समाचार प्रकाशित गरेपछि उनले सो अनलाइन न्युज पोर्टल अनधिकृत नियन्त्रणमा लिएर समाचार हटाएको आरोप लागेको छ।

काठमाडौं प्रेसका प्रवन्ध सम्पादक गोविन्द परियारले अलीले सो समाचार हटाउन पटकपटक दबाब दिएको तर आफूले नमानेपछि उनले न्युज पोर्टल नै नियन्त्रणमा लिएर हटाएको सबलपोष्ट संगको कुराकानीमा वताएका छन् । उनले यो विषय अन्यन्तै गम्भीर भएको र पत्रकारीता माथीको प्रहार भएकाले आफू न्यायिक प्रक्रियामा जाने परीयारले वताएका छन् ।

काठमाडौंं प्रेसले ‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ भन्ने समाचार प्रकाशित गरेको थियो। सो समाचारमा मेडिकल सामग्री खरिदमा प्रधानमन्त्रीका आइटीविज्ञ अली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलका छोरा श्वराजलगायतको संलग्नता रहेको उल्लेख छ।

सो समाचार अलीको टिमले हटाउन दबाब दिँदा आफूले नमानेपछि उनले एडमिन नियन्त्रणमा लिएर हटाएको काठमाडौं प्रेसका सम्पादक गोविन्द परीयारको दाबी रहेको छ । सम्पादक परियारका अनुसार काठमाडौं प्रेसको साइट अलीको स्वामित्वमा रहेको एफवान सफ्टको भगिनी कम्पनी सिरान टेक्नोलोजीजले निर्माण गरेको हो।

सम्पादकीय टिमको अनुमतिबिना नै सिरान टेक्नोलोजीजका प्राविधिकले नयाँ एडमिन निर्माण गरेर अलीलगायत विषयमा लेखेको सामाचार हटाएको परीयारले दाबी गर्नु भएको छ । करिब डेढ घण्टा समाचार साइटमा नखुलेपछि अन्य प्राविधिकको सहायतामा समाचार रिकभर गरिएको काठमाडौं प्रेसले जनाएको छ।