तुल्सीभञ्ज्याङ साना किसानद्वारा कोरोना राहत कोश गल्याङमा एक लाख ११ हजार सहयोग

प्रकाशित मिति:

गल्याङ / स्याङ्जाको गल्याङमा रहेको तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्थाले गल्याङ नगरपालिकाको विपद राहत कोश एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि जीवन धान्न कठिन भएका गल्याङ नगरपालिकाका विपन्नहरुलाई सहयोग गर्न तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले यो सहयोग गरेको हो ।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा बुधबार तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दलबहादुर सिंजालीले राहत रकमको चेक नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।राहत रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले विपदमा परेकाहरुलाई सहयोग गरेको भन्दै तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थालाई धन्यवाद दिनुभयो । उहाँले विपदको समयमा अप्ठ्यारो अवस्थामा रहेका नगरबासीहरुलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

नगरप्रमुख अधिकारीले नगरपालिकाबाट राहतका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिदै थप सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो –“यो कठिन समयमा विपदमा परेकाहरुलाई सहयोग गर्नका लागि राहत कोशमा रकम जम्मा गरिदिनुहुन म सबैलाई आग्रह गर्न चाहान्छु ।”
नगरप्रमुख अधिकारीले विपन्न तथा मजदुरहरुलाई राहत दिनका लागि कार्यविधि बनेको जानकारी दिदै सोही अनुसार वास्तविक पीडितहरुलाई राहत दिने स्पष्ट पार्नुभयो । उहाँले अहिले कोरोना भाइरसको संक्रमण बढी भएमा कल्पना भन्दा बाहिरको परिस्थिति आउन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
राहत रकम हस्तान्तरण कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारी, गल्याङ नगरपालिका सामाजिक शाखा प्रमुख थानापति न्यौपाने लगायतको सहभागिता रहेको थियो ।