बंदेलले धान नष्ट गर्न थालेपछि शंकरनगरमा धान नपाक्दै किसानले धान काटे

प्रकाशित मिति:

दिन दिनै हुलका हुल बँदेल पसेर धानबाली नष्ट गरेपछि शंकरनगरका किसानले धान नपाक्दै काटेका छन । तिलोत्तमा नगरपालिका वडा नं २ योगिकुटी तथा शंकरनगरका किसानले बँदेलले धान नष्ट गरिदिए पछि नपाकेको धान काटेका हुन । रात पर्नासाथ स्थानीय सामुदायिक जंगलबाट बदेलका हुल आएर आफ्नो धान खेती खाईदिएको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य समेत रहेका किसान श्यामलाल क्षेत्रीले बताउनु भयो ।
पहिले छाडा गाईगोरुको हुल आएर खेतीबाली नष्ट गरिदिनेमा अहिले बँदेल समेत थपिएपछि खेती जोगाउन रातभर जाग्राम बस्नुपरेको उहाले बताउनु भयो ।
शंकरनगर सामुदायिक वनमा सयौं छाडा गाईगोरु संगै बँदेल, घोरल लगायतका जनावरहरु प्रशस्त रहेकोले आसपासको खेतीबाली जोगाउन किसानहरुलाई मुश्किल परेको छ। खेतीको लागि उर्बर भुमि रहेर पनि गाईवस्तु र जंगली जनावरबाट जोगाउन नसकेपछि किसानहरुले खेती लगाउन समेत छोडेका छन ।
किसानले लगाएको खेती नोक्सान भएपछि तिलोत्तमा नगरपालिकाकाले तारजालीको लागि बजेट विनियोजना गरेको छ। तर पांचवटा कांडेतार लगाउंदा समेत बँदेललाई रोक्न नसकिएको क्षेत्रीले बताउनु भयो। साना पाठापाठी सहित हुल बाँधेर आउने बँदेलको शरिर सानो भएकोले नजिक नजिक तारजाली लगाउंदा समेत सजिलै पस्ने गरेको उहाले बताउनु भयो । बँदेल नियन्त्रणको लागि कांडे तार नभई जाली वा अरु कुनै विकल्प खोज्नुपर्ने किसानहरुको भनाई छ ।